प्युठान। नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. गोविन्दराज पोख्रेलले असम्भव वाचा नगर्ने तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। घरदैलो अभियानका क्रममा उहाँले प्यूठानको दीर्घकालीन विकाससँग जोडिएका पाँच प्राथमिकता सार्वजनिक गर्नुभएको हो।

डा. पोख्रेलका अनुसार कृषि उत्पादन वृद्धिका लागि सिंचाइ विस्तार, युवा सीप विकास तालिम केन्द्रको प्रभावकारी सञ्चालन, नौमुरे योजना कार्यान्वयनमा बजेट सुनिश्चितता, बाग्दुला–स्याउलिबाङ हुँदै मध्यपहाडी सडक ढोरपाटनसम्म सडक जोड्ने पहल तथा बाग्दुला–भिमगिठे सडक निर्माण अघि बढाउने विषय मुख्य प्राथमिकतामा छन्। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार तथा योजना कार्यान्वयनका नियमावली संशोधनमा पहल गर्ने उहाँको भनाइ छ।
नेपाली कांग्रेस प्यूठानका सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विष्णुकुमार गिरीका अनुसार सरुमारानीबाट सुरु गरिएको घरदैलो अभियान अन्तर्गत हालसम्म करिब २६ वडा तथा बस्तीमा भेटघाट सम्पन्न भइसकेको छ। मतदातामा उत्साह देखिएको र यसपटक जितको सम्भावना बलियो बन्दै गएको दाबी कांग्रेसले गरेको छ।
यस निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिए पनि अन्य दलहरूले पनि आफ्नो उपस्थिति जनाइरहेका छन्। यद्यपि जिल्लास्तरमा संगठनात्मक आधार र मतपरिणामको यथार्थ चित्र भने निर्वाचनपछि मात्र स्पष्ट हुने देखिन्छ। एमालेका उम्मेदवार सूर्य थापा पनि वडा–बस्ती केन्द्रित अभियानमा सक्रिय रहेका छन्।



