मधुसुदन भण्डारी
प्युठान । केही बर्ष पहिले प्यूठानको चेरनेटा पुग्ने बित्तिकै हरियाली समथर झिमरुक फाँट देख्दा जो कोही पनि लोभिन्थे । जिल्लाको झण्डै साडे दुइलाख जनसंख्याको अन्न भण्डार उक्त फाँट अहिले बिस्तारै हरियाली शुन्दरता गुमाउँदै कङ्क्रिट बन्दै गएको छ ।
लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट ५४ किलोमिटर सडक पार गर्दा चेरनेटा पुगिन्छ । प्यूठान चिनाउने झिमरुक फाँटको समथर भुमी, वरीपरी हरीयाली देखेर जो कोही पनि लोभिने अवस्था बिस्तारै हराउँन थालेकोछ । मनमोहक्ता सँगै प्यूठान नगरपालिका र सिङ्गो जिल्लाकै खाद्य सङ्कट धान्ने झिमरुक फाँटमा बाह्रै महिना सिंचाई गर्ने ४ वटा ठुला नहर छन् । नहर निर्माण र नदीमा तटबन्धनका लागि बर्षेनी राज्यकोषको करोडौँ बजेट सकिएको छ । तर तिनै नहरका डिल घडेरी भन्दै घर निर्माण गर्ने परिपाटी र कृषि सडकको बाहानामा गरिएको प्लटिङ्गका कारण फाँट कङ्क्रिट घरले भरिदै गएको छ । जस्लै केही बर्षमै जिल्लाको अन्न भण्डार ठुलो सहरमा परिणत हुँने पक्का छ ।

फाँटमा बस्ती बाक्लिदै र अव्यवस्थित शहरीकरण बढ्दै जाँदा प्यूठान नगरपालिका ७ टिकुरी बस्ने जेष्ठ नागरिक एवम् शिक्षण पेशाबाट अवकास लिई बसेका कमल पोख्रेल लाइ पनि चिन्ता लागेको छ । उनका अनुसार भालुवाङ्ग प्यूठान सडक निर्माण गर्दा सिंचित हुने झिमरुक फाँट लाइ असर नपर्ने गरी दिगो सोँचका साथ निर्माण भएको थियो । फाँट उक्त सडक भन्दा माथी टोलटोलमा सडक पुगेकाछन् । तर जिल्लाका गाउँगाउँबाट बसाइ सरी आउने र फाँट धनीहरुले बेचेर जिल्लाबाहिर बसाइ सर्ने परिपाटीले अव्यवस्थित रुपले सकिनै लागेको हो । उनि भन्छन् यो फांटमा बर्षेनी २ सय बढी नयाँ घर थपिन्छन्। घर–घडेरीमात्रै होइन, बर्षेनी स्थानिय सरकारलेनै यहि फाँटको बिचबिचमा बनाएका सार्वजनिक संरचनाकै कारण पनि जिल्लाबासीलाई बर्षभरि खाद्यन्नको भण्डार नासिदै गएको छ । बाह्रैमास सिचाई हुने झिमरुक फाँटमा बर्षायाममा लहलह धान झुलथ्यो भने हिउँदमा गहुँ । तर करिब एक दशक यता कतै घडेरी त कतै सार्बजनिक क्षेत्र बसपार्क, खेलमैदान र नगरपालिकाकै आफ्नै मुख्यालय बन्यो । साथै ती सार्वजनिक क्षेत्र सम्म पहुँच पुर्याउन सडक निर्माण गरिए । फाँट सिंचाइ गर्ने नहरहरुको दायाँबायाँ पनि कंकृट घरहरु बन्ने अभियान पनि जारि नै छ । स्थनिय सरकार मुखदर्शक भएको छ ।
सरकारले जग्गा बर्गिकरण गरी कृर्षिऽ औद्योगिक आवाशिय सार्बजनिकऽ आदी छुट्याउने नीति लिइ जग्गा बर्गिकरण गर्न स्थानिय तहलाइ जिम्मा लगायो । तर प्यूठान नगरपालिकाले अहिले सम्म जग्गा बर्गिकरणको काम टुङ्ग्याएकै छैन । नगर प्रबक्ता शुमनराज श्रेष्ठ भन्छन्, बर्गिकरणको काम अन्तिम चरणमा पुगेपनि टुङ्गो लगाउने बिषयमा नगरपालिकामा छलफलनै हुन सकेको छैन । भुमि समस्या समाधान आयोग प्यूठानका अध्यक्ष शुवास केसीले स्थानिय तहले जग्गा बर्गिकरण समयमै गर्न नसक्दा झिमरुक फाँटमा अव्यवस्थित बसोवास बढ्दै गएको बताए । उनले भने, जग्गाधनीले आफ्नो जग्गामा घर बनाउन रोक लागउन त कानुन त मिल्दैन । तर स्थानिय तहले जग्गा बर्गिकरण गरेपछि जथाभावी घर निर्माणको काम नियन्त्रण पक्कै हुन्छ । कुन क्षेत्रमा घर बनाउने, कुन क्षेत्रमा खेति गर्ने, अन्य कहाँ कहाँ के के गर्न भन्ने सहज र स्पष्ट हुन्छ । प्यूठान नगरपालिकाले आ व २०७७–०७८ यता हाल सम्म जम्मा ३५ वटा घरको नक्सा पास गरेको छ भने ५ सय ३ वटा घरको अभिलेखिकरण गरेको छ । यसर्थ नगरपालिका भित्र घर निर्माणका लागि नक्सा पास गर्ने र अभिलेखिकरण गर्ने भन्दा नक्सापास र अभिलेखिकरण नगरी निर्माण गर्ने उत्तीनै भएको प्यूठान नगरपालिका पुर्बाधार शाखा प्रमुख प्रेम पौडेलले बताए ।

अर्कोतिर जिल्लाका अन्य गाउँपालिकाहरु र गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा जथाभावी फाल्ने र बर्षायामको भलले बगाउँदा खोला झिमरुक नदिको सतह पनि अग्लिदै जाँदा फाँट नदि कटानको जोखिममा समेत पर्दै गएको छ । सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकन बिना नै सडक निर्माण गर्दै जाँदा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने अर्को जोखिम देखिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा फाँट क्षेत्रमा बस्ती बढ्दै गएको छ । यसर्थ २०७८ को जनगणनाले पनि जिल्लाका अन्य स्थानिय तहहरुको जनसङ्ख्या केही घटेको थियो भने प्यूठान नगरपालिकाका वडा न १, २, ३, ४, ७, ८ को तल्लो क्षेत्रमा जनसङ्ख्या बढेको देखिएको थियो ।
२०७४ सालमा स्थानिय तह स्थापना भए । आफ्नो स्थापनाकाल सँगै आ व २०७५–७६ र ०७६–०७७ मा प्यूठान नगरपालिकाले झिमरुक फाँटलाइ हरित क्षेत्र कायम राख्ने भन्दै फाँटमा घर बनाउन नक्सापास बिजुली बत्ती खानेपानीको सिफारिस समेत नगर्ने निति तथा कार्यक्रम बनायो । तर सस्तो लोकप्रियताका लागि लिएको निति किताबमै सिमित छ । तत्कालिन नगर प्रमुख आफै जग्जा प्लटिङ्ग र जग्गा कारोबारमा संलगन भएका कारण आफैले नीति बनाएर कार्यान्वयन नगरेको सर्बसाधारणको आरोप छ ।
एकातिर झिमरुक फाँट जोगाउने आदर्शका भाँषण पोख्ने अर्कोतिर प्लटिङ्गको धन्दा चलाउने माफिया प्रबृत्तिकै कारण झिमरुक फाँटको इतिहाँस फेरिने निश्चित छ भन्छन् पुर्ब शिक्षक तथा समाजसेवी प्यूठान न पा २ निवासी हुकुम बहादुर बिष्ट । उनि भन्छन् , फाँटलाइ खेति योग्य कायम राख्नकै लागि भालुवाङ – प्यूठान सडक पाखातिरबाट लगिएको हो । बि.स. २०१८ साल अघि अहिलेको लुम्बिनी प्रदेश राजधानी भालुवाङ्ग देखि प्यूठान सम्मको सडकनै नभएकाले दाङ्गको मुरकुट्टी – घोराही सडक खण्डबाट राजमार्गको पहुच सम्म जानु पर्ने बाध्यता रहेको उनले बताए । उनले भने, नर्भे सरकारको सहयोगमा बुटवल पावर कम्पनिले झिमरुक जलबिद्युत उत्पादन गर्नका लागि आवस्यक उपकरण ल्याउन एक बर्ष लगाएर भालुवाङ्गबाट ५५ किलोमिटर सडक मार्ग खोलेपछि बि स. २०१८ सालमा प्यूठानको रातामाटामा सडक उद्घाटन गरिएको थियो । त्यसपछि २०२५ सालसम्म उक्त सडक भिमरुक फाँटलाई असर नपर्ने गरी बस्तीस्तरबाटै बाग्दुला सम्म बिस्तार गरिएको थियो । प्यूठान सदरमुकाम खलंगा पनि बि.स. २०३१ सालमा मात्रै सडकको पहुँचमा पुगेको थियो ।
तराइको भुभाग भन्दा यो फाँट अत्यन्तै मलिलो र उर्बर छ । ठुला नहर ६ वटा साना ३ गरी ९ वटा सिंचाई गर्ने नहर छन् । तर खेलमैदान फाँटमै, बृद्धाश्रम फाँटमै, बसपार्क फाँटमै, सङ्घ सङ्स्थाका कार्यालय फाँटमै, ति कार्यालयमा पुग्ने सडक फाँटमै, अव कसरी जोगिएलार यो फाँट । प्यूठान नगरपालिकामा अ व २०७९–०८० मा भन्दा २०८०–८१ मा करिब १०७५ मेट्रिक्टनले धान उत्पादन बृद्धि भएको तथ्याङ्क छ । तर मकै ४८८१ मेट्रिक्टन र गहुँ ५९२० मेट्रिक्टनले घटेको नगर कृषि शाखाको तथ्याङक छ । यसले के देखाउँछ भने गाउँ तथा पाखाबारीमा खेती गर्ने जनशक्ति अभाव र बेसी र फाँट तर्फ बसाइ सर्ने जनशक्ती बढ्दै जाँदा झिमरुक फाँट जोखिममै छ ।

प्रधानमन्त्री कृर्षि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ– जोन कार्यालय प्यूठानका प्रमुख चुमान गिरीका अनुसार प्यूठानमा धान उत्पादनको अवस्था हेर्दा राष्ट्रिय उत्पादकत्व भन्दा प्रतिहेक्टर १।२ मेट्रिक्टन बढि छ । तर उक्त कार्यालयले जिल्लामा चैते धान र बर्षेधान गरी दुइ पटक धान बाली उत्पादनमा कृषकलाइ प्रोत्साहन गरेका कारण उत्पादकत्व बढि दिखएको हो । धान खेति हुने प्रमुख क्षेत्रनै प्यूठान नगरपालिकामा पर्ने झिमरुक फाँट र आसपासको भु–भाग हो । कार्यालय प्रमुख गिरीका अनुसार झिमरुक फाँट करब ९ सय हेक्टरमा फैलिएको छ । बाह्रै महिना सिंचाई पहुँच रहेको मोलिलो भएकाले यहाँ बर्षायाममा चैते र बर्षे गरी दुइ खेति धान र हिउँदमा गहुँ र तरकारी उत्पादन गर्न अति उत्तम भएपनि जथाभावि अव्यवस्थित कङ्क्रिट घर बन्दै गएकोमा कृर्षि बिज्ञहरुले चिन्ता व्यक्त गरेकाहुन् । एकिकृत कृर्षि तथा पशुपङ्छी विकास कार्यालय प्यूठानका अनुसार राष्ट्रिय उत्पादकत्व प्रति हेक्टर करिब ३।९८ छ भने प्यूठानमा प्रति हेक्टर ४।९ मेट्रिक्टन धान उत्पादन हुन्छ । खेतियोग्य जमिन मासिदै गएपनि आधुनिक प्रबिधिको प्रयोग र उन्नत जातका बिउबिजन लगाउँदा उत्पादन नघटेको उक्त कार्यालयले जनाएको छ ।
अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगर, बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जाताततैबाट छोरे बाटाहरू खोलिएका छन । खोल्साहरुमा समेत ढल निकासको बाहानामा नगरपालिकाले नै ढलान गरेर सडक बनाएको छ । खेतमा बनाईएका घरघडेरीमा धमाधम नया घर बनाइँदैछ । यो क्रम रोकिएको छैन। राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा यो हरियाली फाँट बर्षेनी मासिदै गएको हो ।
प्युठान नगरपालिका कृषि शाखाका बाली संरक्षण अधिकृत ।। अनुसार झिमरुक फाँटको करिब ४ सय हेक्टर क्षेत्रफल जमिनमा घडेरी र घरहरु भइसकेको छन् ।
कार्यान्वयनका कुरा मात्रै झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाईए। तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति नगरपालिकाले बनाउन सकेको छैन । तर जिल्ला नापी कार्यालयले भुमि बर्गिकरण गरी त्यसको बिबरण पेश नगरे कित्ताकाट नगर्ने भन्दै स्थानिय तहलाइ सूचित गरेको छ ।
यस अघि नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलोभन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको थियो । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय थियो । तर, यो योजना पनि कागजमै सिमित छ । जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान रहेकाले यसलाई जोगाउनुपर्छ भन्ने धेरै समुदाय भएपनि जिम्मेवार सङस्था र व्यक्तिहरु मौन रहनु रहस्यमय छ ।
सङ्स्थापक नगरप्रमुख अर्जुनकुमार कक्षपति पनि फाँट मासिएकोमा चिन्तित छन् । उनको कार्यकालमा फाट जेगाउने नीति मात्रै बनाए । तर, फाँट जोगाउने बिषयमा ठोस काम गर्न सकेका सकेनन् । उनि भन्छन् फाँट जोगाउने विषयमा भुउपयोग नीति बनाउनै पर्छ । उनकै कार्यकालमा तेस्रो नगरसभाले पनि खेतीयोग्य जमिन जोगाउनका लागि ‘नगर गुरुयोजना’ बनाएर अघि बढ्ने नीतिगत निर्णय गरेको थियो । नगरले व्यवसायिक, औद्योगिक र आवास निर्माण गर्ने योजना बनाएको थियो । उनी भन्छन्, ‘झिमरुक फाँटसुन्दर्तालाई ह्रास हुनबाट जोगाउनु पर्छ ।’ 



