नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवस आज प्यूठाज सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
प्यूठानमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति र नेपाल प्रजातान्त्र सेनानी संघ प्यूठानको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम र बिपीको संझनामा मौनधारण गरि दिवस मनाईएकोछ ।

नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णुकुमार गिरी, पुर्ब पाटी सभापतिहरु सुवास केसी, अमर प्रसाद भण्डारी, जिल्ला पाटीका अन्य पदाधिकारी तथा सदस्यहरु, नेपाल प्रजातान्त्र सेनानी संघका अध्यक्ष कमल पोख्रेल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष भेषराज रिजाल, नेपाल पेस युनियनका अध्यक्ष मधुसुदन भण्डारी लगायत कांग्रेसका विभिन्न भातृ तथा सुवेच्छुक संघका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठानको टिकुरी स्थित प्रस्तावित गणेशमान सिंह उद्यान परिषरमा बृक्षारोपण गरिएको हो ।


नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। नेपाली साहित्यका क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ।
विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो। वि.सं. २०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए।
वि.सं. २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि उनीहरूलाई सुन्दरीजल बन्दीगृहमा सारिएको थियो, जहाँ कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतका मन्त्रीहरूलाई बन्दी बनाइएको थियो।
वि.सं. २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएपछि कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको परवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर उनी स्वदेश फर्केका थिए। उनको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ वटा उपन्यास प्रकाशित छन्। उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छन् भने हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ पनि प्रकाशित छन्।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, र वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेका छन्। ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायतका रचना पनि प्रकाशित छन्।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई वि.सं. २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरिएको थियो। बीपीको जीवनका महत्त्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनर्निर्माण गरिएको छ। सङ्ग्रहालयमा बीपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।
बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, यसका भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रमहरू गर्ने नेपाली काङ्ग्रेसले जनाएको छ ।



