प्यूठान, ऐरावती ।
ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका लागि सुरु गरिएको एउटा सानो प्रयास अहिले समुदायभित्र “उपहार अर्थतन्त्र” को प्रेरणादायी उदाहरण बन्दै गएको छ । ऐरावती गाउँपालिका–३ काउलेमा सक्रिय स्वावलम्बी महिला समूहले आफूहरूले पालेका बाख्राबाट जन्मिएका पाठापाठी अर्को “बहिनी समूह” लाई हस्तान्तरण गरेपछि गाउँमा आत्मनिर्भरता र सहकार्यको नयाँ सन्देश फैलिएको हो।
तीन वर्षअघि आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गठन गरिएको काउले स्वावलम्बी महिला समूहका २० सदस्यले दुई वर्षअघि परियोजनामार्फत बाख्रा प्राप्त गरेका थिए । अहिले त्यही बाख्राबाट उत्पादन भएका पाठापाठी बिहीबार वडा नं. ३ कै सुनगाभा स्वावलम्बी महिला समूह, जावुनेका सदस्यलाई उपहारस्वरूप हस्तान्तरण गरिएको छ।
समूहकी अध्यक्ष कमला थापाका अनुसार १८ जना सदस्यले एक–एक वटा बाख्रा “बहिनी समूह” लाई दिएका हुन्। यसलाई सामान्य वितरणभन्दा बढी “साझा समृद्धिको अभ्यास” का रूपमा हेरिएको छ। किनकि यस मोडेलमा सहयोग एकपटकमा सीमित हुँदैन, बरु एउटा समूह आत्मनिर्भर भएपछि अर्को समूहलाई उभ्याउने श्रृंखला निरन्तर चलिरहन्छ।

नयाँ समूहकी अध्यक्ष गीता गुरुङले आफूहरूले पनि यही अभ्यासलाई निरन्तरता दिने बताइन्। “हामीले पनि बाख्रापालनबाट आयआर्जन बढाएर आगामी दिनमा अरू बहिनी समूहलाई सहयोग गर्नेछौँ,” उनले भनिन्। उनका अनुसार परियोजनाले महिलामा आत्मविश्वास मात्र होइन, सामूहिक उद्यमशीलताको भावना समेत विकास गरेको छ।
यो कार्यक्रम ऐरावती गाउँपालिकामा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना” अन्तर्गत अघि बढाइएको हो। गाउँपालिकाका सबै ६ वडामा हाल ६६ वटा समूह गठन गरिएका छन्। कार्यक्रम संयोजक नारायणलाल श्रेष्ठका अनुसार गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले परियोजनाको सहजीकरण गर्दै आएको छ।
२०७९ माघ १६ गतेदेखि लागू भएको ४८ महिने परियोजनामा गाउँपालिकाले ४ करोड ९० लाख रुपैयाँ र हेफर प्रोजेक्ट नेपालले २ करोड १० लाख रुपैयाँ लगानी गर्ने सम्झौता अनुसार कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार परियोजना सुरु भएपछि गाउँपालिकामा खसीबोकाको उत्पादन उल्लेखनीय रूपमा बढेको छ। “पहिले बाहिरबाट आयात हुने खसीबोका अहिले यहाँबाट निर्यात हुन थालेका छन्,” उनले बताए। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको स्थानीयहरूको भनाइ छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शरद गौतमले परियोजनाको वास्तविक सफलता समुदायको निरन्तरतामा निर्भर रहने बताए। “परियोजना सकिएपछि पनि सिकाइ, सीप र अभ्यासलाई समुदायले निरन्तरता दिनुपर्छ,” उनले सुझाव दिए।

ग्रामीण क्षेत्रमा महिलालाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस्तो “दिदी–बहिनी मोडेल” ले आर्थिक सहयोगसँगै सामाजिक एकता, विश्वास र आत्मनिर्भरताको संस्कृतिलाई समेत बलियो बनाइरहेको देखिन्छ।



