प्यूठान । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरु बढ्दै जान थालेका पछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्यूठानका नौ वटै स्थानिय तहका प्रमुख सहितको सरोकारवाला सहितको छलफलले जिल्लामा बढ्दो आत्महत्या दरलाई न्यूनिकरणका लागि मनोरोगका कारणहरूको पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।

यश आर्थिक बर्षको सुरुवात देखि पौष २३ गते सम्म प्यूठान जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुशार जिल्लामा विभिन्न तवरबाट २९ जनाले आत्महत्या गरेकाछन् । गत आर्थिक बर्षमा ७९ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केशव के सीले यो बिषय सामाजिक बिकृतीको रुपमा देखिएको बताए । आत्महत्या गर्नेमा लुम्बिनी प्रदेशमै अग्र पंतिमा प्यूठान रहेको उनले बताए ।
मंगलबार आत्महत्या न्यूनीकरणका सन्दर्भमा प्यूठान नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सरोकारवाला बिच अन्तरक्रिया भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले जिल्लामा आत्महत्याको अवस्थाबारे जानकारी गराइएको थियो । काठमाण्डौ विश्वविद्यालयका चिकित्सकहरूले मनोरोगको कारण, लक्षण र उपचारबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए । नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आत्महत्या न्यूनीकरण कार्यमा सबै पक्ष लाग्नुपर्ने बताए । समुदाय स्तरदेखि नीति निर्माणको तहसम्म साझा प्रयासले मात्र आत्महत्या न्युनिकरणको कार्यमा सफल भइने उनले बताए ।
आत्महत्याको दर बढ्ने विकराल समस्या न्यूनीकरणका लागि समाज रूपान्तरण गर्न क्रियाशील सबै क्षेत्रले समाजको नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै अगाडी बढ्नुपर्ने मेयर योगिको भनाई छ ।
यस्तै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले सबैले साझा प्रयत्न जरुरी हुने बताए । प्रमुख जिल्ला अधिकारी रमा आचार्यले समुदाय स्तरबाटै प्रयास गरेमा आत्महत्या न्यूनीकरण कार्य प्रभावकारी हुने बताइन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय तहका कार्यक्रमहरूमा सरोकारवाला सबैसँग सहकार्य बढाएमा त्यसको प्रभावकारिता बढ्ने बताए ।

नेपाल सरकार गृह मन्त्रालय र काठमाण्डौ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रको समझदारी बमोजिम यो कार्यक्रमको आयोजना गरिएको प्यूठान नगरपालिका उपमेयर देबेन्द्र बर्माले बताए । कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सकहरू डा. रीका रिजाल र डा.जया शिल्पकारले मानसिक रोगका कारण, निदान र उपचारबारे अवधारणा राखेका थिए ।
प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुरी जि.सी. प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।



