आठ वडामा आज अधिवेशन हुँदै, नौबहिनीमा देविरामले पाएनन् अवसर, छोरालाई क्षेत्रीय प्रतिनिधिको अवसर
प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा वडा अधिवेशनले उत्साहजनक गति लिएको छ। जिल्लाका ६४ वडामध्ये ५६ वडामा असोज ३ गते वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ। प्राविधिक समस्याका कारण बाँकी रहेका आठ वडामा असोज ४ गते अधिवेशन सम्पन्न गर्ने तयारी छ।
अधिवेशनमा वडा तहका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको कांग्रेसले जनाएको छ। वडा अधिवेशनबाट वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। बाँकी आठ वडाको अधिवेशन सम्पन्न भएपछि वडा समिति र जिल्लामा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूर्ण हुनेछ।
यसपटकको वडा अधिवेशनमा केही रोचक राजनीतिक दृश्यसमेत देखिएका छन्। नौबहिनी गाउँपालिकामा कांग्रेस गाउँपालिका सभापति देविराम पुनले आफू भने वडा अधिवेशनमा सहभागिता जनाएनन्। तर, उनको परिवारबाट भने प्रतिनिधित्व भएको छ। पुनका छोरा यामलाल पुन जनजाति क्लस्टरतर्फबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। प्युठानका ६४ वडा मध्य सबैभन्दा धेरै १८४ जना कृयासिल सदस्य रहेको वडा नौबहिनी ८ हो ।
यसैगरी कांग्रेस प्यूठानका पूर्वसभापति सुवास केसी प्यूठान नगरपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। अमरप्रसाद भण्डारी प्यूठान नगरपालिका–६ बाट क्षेत्रीय प्रतिनिधि बनेका छन्।
कांग्रेस प्यूठानका वर्तमान सभापति विष्णु गिरी गौमुखी गाउँपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् भने लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी झिमरुक गाउँपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन्।
वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिहरू नै कांग्रेसको आगामी नेतृत्व चयन प्रक्रियाका महत्वपूर्ण आधार हुनेछन्। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ६४ वडा सभापतिसहित कुल १ हजार ५ सय ३६ जना क्षेत्रीय प्रतिनिधिले आगामी प्रदेश तथा केन्द्रीय महाधिवेशनको प्रतिनिधि छनोट र जिल्ला नेतृत्व चयन प्रक्रियामा भूमिका खेल्नेछन्।
क्षेत्रीय प्रतिनिधिहरूले जिल्लाका दुईवटा प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति चयन गर्नुका साथै लुम्बिनी प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेछन्। त्यसपछि जिल्ला नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।
वडा तहदेखि नै नेतृत्व छनोटको प्रक्रिया सुरु भएकाले प्यूठानमा कांग्रेसको १५औँ महाधिवेशनले जिल्लाको आगामी संगठनात्मक संरचना र नेतृत्वका लागि समेत महत्व राख्ने देखिएको छ। विशेषगरी पुराना नेतादेखि नयाँ पुस्तासम्म क्षेत्रीय प्रतिनिधिमा चयन हुनुले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र पुस्तागत सहभागिताको विषयलाई समेत चर्चामा ल्याएको छ।
प्राविधिक कारणले रोकिएका आठ वडाको अधिवेशन असोज ४ गते सम्पन्न भएपछि प्यूठानमा वडा तहको अधिवेशन प्रक्रिया पूर्ण रूपमा टुंगिने नेपाली कांग्रेस प्यूठानले जनाएको छ।




