काठमाडौँ । पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरूले आजदेखि नयाँ अभियान शुरू गरेका छन् ।
विभिन्न महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको प्रारम्भिक भेलाले पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गरेका हुन्। पार्टीको पुनर्गठनका लागि विशेष महाधिवेशन अहिले अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ।
विशेष महाधिवेशन कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्न प्रस्ताव गरिएको भेलाका अगुवा तथा कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पार्टी पुनर्गठनको अभियान र विशेष महाधिवेशनका लागि व्यापक दबाब दिन असोज ३ गते संविधान दिवसका दिन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको बृहत भेला आयोजना गरिने आजको भेलाले निर्णय गरेकोसमेत उनले बताए । आज आयोजित प्रारम्भिक भेलामा वरिष्ठ पत्रकार तारानाथ दाहालले अहिलेको विषम राजनीतिक अवस्थाबारे विवेचना गरेका थिए ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली नेताहरू विनोद खनाल, कुमार लुइटेल, पल्टन साह, रुद्र कन्दङवा, डा सुरजराज काफ्ले, टेकराज पौडेल, प्रकाश देउवा, संगिता फुयाललगायत दुई दर्जन नेताहरूको सहभागिता रहेको थियो।
उनीहरूले अहिलेकै नेतृत्वबाट पार्टीलाई अगाडि बढाउन नसकिने भएकाले तत्काल नयाँ नेतृत्वसहित पार्टीलाई वैचारिक तथा सांगठनिक हिसाबले पुनर्गठित गर्नुपर्ने अनिवार्य आवश्यकता रहेकोमा जोड दिएका छन् ।
उनीहरुले पार्टी पुनर्गठनका लागि जुट्न देशभरका पार्टीका महाधिवेशन प्रतिनिधिहरु, सदस्यहरु र शुभचिन्तकहरुमा अपील गरेका छन् ।



