कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिए ।

‘जो जो नेताले बढी अधिवेशनको कुरा गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने सार्वजनिक गरिदिनेसमेत महामन्त्री थापाको चेतावनी थियो । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा नगर्न थापाले निर्देशन दिए ।
चैत मसान्तभित्र २ सय रुपैयाँ तिरेर क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने थापाले बताए । ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो,’ थापाले नेता कार्यकर्तालाई भने, ‘जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौं । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं ।’
प्रत्येक कांग्रेसको सदस्य बिहानदेखि बेलुकासम्म अधिवेश अधिवेशन भनेरमात्र लागि राख्ने हो,’ थापाको प्रश्न थियो, ‘अधिवेशन गरेर को आउँछ र हामीमध्येकै आउने होइन ? कसलाई हराएर आउँछौं आफ्नै साथी गराएर आउने त हो नि ।’
कांग्रेसमा ४ पुस्ताका मानिसहरुको रहेको महामन्त्री थापाको भनाइ थियो । कांग्रेस सभापतिकै उमेर आफ्नो बाबुको भन्दा १० वर्ष बढी भएको उनले सुनाए । तर, सबै मिलेर चलाउनुपर्ने थापाको भनाइ थियो ।
‘मभन्दा २०/२५ वर्ष पछाडिका नौ जवानहरुले के भन्न आइसके भने दाइ ठाउँ छोड्नुस् त हाम्रो पालो आयो भन्न आइसके,’ थापाले भने, ‘बामाथि हुनुहुन्छ फेरि ।’
नेपाली कांग्रेसका निम्ति पार्टीको अधिवेशन र २०८४ को चुनाव दुबै महत्वपूर्ण रहेको महामन्त्री थापाले बताए । केही भएन भन्ने जनतालाई बुझाउने गरी लाग्न ररिजल्ट दिन गगन निर्देशन दिए ।
‘आज आम जनताको बीचमा नेपालमा जति हुनुपर्ने थियो भन्ने जुन कुरा छ, हामी यसलाई मान्दछौं केही कुरा भएको छ, त्योभन्दा बढी हुनुपर्छ, हुन सक्छ तर हामी बनाउँछौं,’ थापाको निर्देशन थियो, ‘हामी गर्छौं भन्ने विश्वास राख्ने र विश्वास दिलाउने काम हाम्रो पार्टीले गर्छ भन्ने उच्च मनोबलका साथ फर्कनुपर्छ ।’
यसैबिच नेपाली कांग्रेस प्यूठान नगरपालिका ईकाईले पनि आज पालिका सम्मेलन सम्पन्न गरेको जनाएकोछ । सम्मेलनको उद्घाटन प्यूठान क्षेत्र नं २ का सभापति तथा लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापाले गरेकाछन् ।




