प्यूठान । झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले आफूलाई लक्षित गरि जतिय विभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारि गरेको बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको बताएकाछन् । उपाध्यक्ष पोख्रेलले जातिय विभेद गरेको भन्दै झिमरुक स्थित दलित सञ्जालबाट गत कार्तिक २६ गते जारी बिज्ञप्तिको खण्डन गर्दै आज बिज्ञप्ती जारी गरेकाहुन् ।

गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको झिमरुक गापा ६ का हेमराज भट्टराईको भे १ च ३९९३ नंम्बरको डवल क्याप बोलेरो जिपको निरन्तरता नहुने भएपछि चालक माथि जातिय विभेद गरी भाडामा नलिएको भन्दै राजनीतिक प्रतिशोदले यस्तो गलत हर्कत गरिएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा भनेकाछन् । दलित सञ्जालले जारी गरेको प्रेस बिज्ञप्तिको बिषयमा आफूलाई कुनै जानकारी नभएको र गाउँपालिकाले उक्त जिप प्रयोग गर्दा सम्म आफूलाई कुनै विभेद नभएको चालक रेसम सुनारले बताए । गाउँपालिकाले बुधवार आयोजना गरेको सार्बजनिक सुनुवाईमा झण्डै आधा समय उपाध्यक्ष प्रमोद पोख्रेलले जातिय विभेद गरेको भन्दै छलफल भएको थियो । 
चालक रेसम सुनारले उपाध्यक्षबाट आफूलाई जातिय विभेद नभएको बताए । उनले भने,` ६/७ महिना संगै हिड्यौ केही भएन । एउटै परिवार जस्तो भएर हिड्यौँ । गाडी साहुले म दलित भएको कारण पालिकाले गाडी भाडामा नलिने भन्यो भन्नू भो रे । साहुले बनावटी कुरा गर्नु भो कि उपाध्यक्षले भनेर भन्नू भो, मलाई थाहा छैन ।´ रेसम सुनारको उक्ति अभिव्यक्त आज विभिन्न माध्यमबाट सामजिक सञ्जालमा आएकोछ ।
उपाध्यक्ष पोख्रेलले हेमराज भट्टराईले राष्ट्रिय जनमोर्चा निकट कार्यकर्ता प्रयोग गरेर गाडी भाडामा नलिएको रिसमा आफूमाथि मानहानी गरेको बताएकाछन् । उनले भने,` पालिकामा मेरो सामाजिक गतिविधि देखेर मेरो बदनाम गर्ने योजना हो । मैले कसैलाई विभेद गरेको छैन । कयौ दलित परिवारको घरमै गएर बसेकोछु, खाना खाएकोछु ।´ उपाध्यक्ष पोख्रेलले मैले विभेदपुर्ण अभिव्यक्ति कहि बोलेको भए प्रमाण सहित अदालत जान चुनौती दिए । उनले आफूमाथि मानहानी भएको समेत बताएकाछन् ।



