चितवन । मुग्लिन -नारायणगढ सडक खण्ड अन्तरगत सिमतालमा पहिरोका कारण दुईवटा बस व्यपत्ता भएकाछन् ।लेदो सहितको पहरोमा परेका दुबै बस लेदो शीत त्रिशुली नदीमा खसेर व्यपत्ता भएको प्रहरीले आशंका गरेकोछ । दुईवटा बसमा गरि करिब ६५ यात्रु रहेको अनुमानछ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेधो सहितको पहिरोमा परेका थिए ।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन । दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौं । पहिरो पन्छाउँदै खोजी कार्य जारी छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको प्रहरी टोली खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।रासस



