प्यूठान। प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनः विवादमा तानिएको छ। प्यूठानमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा को नाममा सार्वजनिक प्रतिक्षालयमै पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको खुलेको हो।
गौमुखी गाउँपालिका २ अर्खा क्षेत्रमा रहेको एक सार्वजनिक प्रतिक्षालयमा वडा स्तरीय सम्पर्क कार्यालय सञ्चालन गरिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहमा तीव्र असन्तोष फैलिएको छ। प्रतिक्षालयमा पार्टीको होर्डिङ बोर्ड, झण्डा र चुनाव चिन्ह टाँसिएको देखिन्छ।
सामाजिक सञ्जालमा देखिएको तस्बिर:-

निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक सम्पत्ति, सरकारी भवन तथा सार्वजनिक संरचना कुनै पनि दल वा उम्मेदवारले चुनावी प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। तर यहाँ भने खुलेआम सार्वजनिक स्थानलाई पार्टी कार्यालयमा परिणत गरिएको देखिएको छ।
स्थानीय बासिन्दाहरूले सार्वजनिक सुविधा कब्जा गरेर राजनीतिक प्रचार गर्नु “सिधै आचारसंहिता उल्लंघन” भएको टिप्पणी गरेका छन्। उनीहरू भन्छन्, “जनताले बस्न बनाइएको प्रतिक्षालयलाई दलको प्रचार थलो बनाउनु लोकतन्त्रप्रति नै चुनौती हो।”
निर्वाचन आयोगले पटक–पटक आचारसंहिता पालनामा कडाइ गर्ने चेतावनी दिँदै आएको छ। तर प्यूठानमा देखिएको यो घटनाले आयोगको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ।
अब प्रश्न उठेको छ—
सार्वजनिक संरचना कब्जा गरेर गरिने यस्तो प्रचारप्रसारमाथि सम्बन्धित निकायले कारबाही गर्छ कि मौन समर्थन?
जनताको साझा सम्पत्ति दलको सम्पर्क कार्यालय बन्ने हो भने निष्पक्ष निर्वाचनको आधार कति बलियो रहला?



