काठमाडौं । व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा एमालेका नेताहरूले असहमति जनाएका छन् ।

च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले कुनै अमूक व्यापारीले दिने दानको घरबाट पार्टी सञ्चालन हुनु राम्रो नहुने धारणा राखेका हुन् । ‘बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन र पार्टी कामका अरू विषयमाथि नै नेताहरूले कुरा राख्नुभयो । तर दोस्रो दिन खुलेर समस्याहरुमाथि कुरा भयो’, बैठकमा सहभागी एक नेताले भने ।
उनका अनुसार ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुनेमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको बढी जोड थियो । `दिन्छु भन्नेलाई धन्यवाद भनौं र दान लिने निर्णयबाट फिर्ता होऔं’, भट्टराईको प्रस्ताव थियो, ‘जुन स्कुलिङबाट हामी आएका छौं, त्यसले गर्दा यो निर्णय पचाउन गाह्रो भइरहेको छ ।’
भट्टराईले आफूसहित नेताहरू हुर्किएको स्कुलिङ बदल्ने नभएर जग्गा दानमा लिने निर्णय बदल्नुपर्ने प्रस्ताव गरेका थिए । भट्टराईकै तर्कमा अरु नेताले पनि साथ दिए ।
स्रोत : onlinekhabar



