काठमाडौ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र आक्रमणसँगै देश शून्यतामा पुगेको भन्दै अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नुपर्ने बताएको छ।
पार्टीका प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ।”
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अर्को विज्ञप्ति प्रकाशित गर्दै “यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ” भनेका छन्।



“नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, सञ्चार जगत्, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथसहयोगका लागि अपील गर्दछौँ।”
यो पहललाई जेन जी कै भावनाअनुसार निष्कर्षमा पुर्याउनुपर्ने उनीहरूको भनाइ छ।
आन्दोलनकारीहरूले हिजो नेपाली कांग्रेसको मुख्य कार्यालय र विभिन्न नेताका घरहरूमा आक्रमण, तोडफोड र आगजनी गरेका थिए।
यसैबिच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि जेनजी आन्दोलनका क्रममा रास्वपा, माओबादी र राप्रपा लगायतको घुसपैठ भएको र राष्ट्रको ठूलो धनजनको क्षतिभएकोमा दुख व्यक्त गरि अपराधी शैली अपनाएर लोकतान्त्र माथि प्राहार भएको बताएका छन् ।



