सरकारले `बिद्यालय शिक्षा ऐन´ जारी नगर्दा हप्तौँदेखि शिक्षकहरु राजधानी काठमाडौं केन्द्रीत आन्दोलमा छन् । शिक्षकहरुको मागलाई सरकारले सम्बोधन गर्नुको साटो उल्टै नजरअन्दाज गर्दा बैशाख २ देखि सुरुहुने बिद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरणको काम देशभर प्रभावित भएको छ । कुनै बिद्यालयमा त बार्षिक परिक्षाको नतिजानै सार्बजनिक गरिएको छैन।

सामुदायिक बिद्यालयका शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भैसक्दा बिद्यार्थी भर्ना पाठ्यपुस्तक बितरणको काम मात्रै होईन SEE को पुरक परीक्षा र कक्षा १२ को नियमित परीक्षा समेत प्रभावित हुने देखिएको छ । SEE को कपि जाँचका लागि जिल्ला जिल्लामा उत्तरपुस्तिका पुगेपनि जाँच गर्ने शिक्षक भने काठमाडौंमा आन्दोलित छन् । समयमै उत्तर पुस्तिका परिक्षण नगरे नतिजा प्रकाशनमा ढिला हुने निश्चित छ । तर सरकारले शिक्षा ऐन ल्याउने बिषयमा नजरअन्दाज गरिरहेको शिक्षकहरुको गुनासो छ ।
सरकार निकास खोज्न तर्फ नभइ आन्दोलन लाई नजर अन्दाज गरि अल्मल्याउने तर्फ केन्द्रीत भएको भन्दै शिक्षकहरु ऐन पारित नहुँदा सम्म आन्दोलन जारी राख्ने बताएकाछन्। सरकारले अटेर गरि ऐन पारित नगरे अभिभावक र विद्यार्थीलाई पनि आन्दोलनमा उतार्ने शिक्षक महासंघले चेतावती दिएकोछ ।
संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई शिक्षक महासंघसँग विगतमा भएको सहमति अनुसार पारित गर्न दवाव स्वरुप शिक्षकका विभिन्न पेशागत संघ संगठन र शिक्षक महासंघ आन्दोलित छन् ।





