प्यूठान । बि.स. १९८४ देखि हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन नौबहिनी गाउँपालिकाको बहानेमा त्यस क्षेत्रको पर्ख्यात कुनौटा मेला लाग्दै आएकोछ ।
बहाने ईलाकाका व्यापारी गुप्तबहादुर के.सी.का बाजे कालू खत्री तत्कालिन अवस्थामा पाल्पा, गुल्मीक्षेत्रमा वस्थित रिडी गण्डकी गएको र रिडी नदिको किनारमा कार्तिक पुर्णीमाको दिन मेला लागेको देखेपछि त्यसबाट प्रभावित भएर बहानेमा मेला सुरु गरेको व्यापारी केसीले जानकारी दिनुभयो । १९८४ मा कालु खत्रीले मेला सुरु गरेपछि कुनौटामा त्यस क्षेत्रमा सरायँ नाच, रैथाने मारुनी, भैले भैलेनी, विभिन्न झाकीहरु प्रदर्शन हुँदै आएकाछन् । पछिल्लो समय भैले भैलेनी, झाकी र नृत्य तथा विभिन्न खेलकुद गतिविधिको प्रतियोगिता सञ्चालन गर्न थालिएकोछ । मेलामा नौबहिनी गा पा ३ का महिलाहरुको मारुनी भैलोले बहाने बजारमा छुट्टै पहिचान दिएकोछ ।
मेलामा आसपासका गाउँहरुबाट स्थानिय कृषकहरुले उत्पादन गरेका सुन्तला, मौषम,अमिला ,बताम संखतरुल, घर तरुल,मह, घ्यु, केरा आदि वस्तुहरुको राम्रो व्यापार हुन्छ । यसका साथै होटल व्यवसाय समेत राम्रो चल्दै आएकोछ । मेलामा नाचगानको रमाईलो सँगै हाटबजार चल्ने भएकाले कुनौटाको छुट्टै रौनकता हुन्छ ।

कालू खत्रीको देहान्त पछि उनका छोरा होम बहादुर के सीले पनि कुनौटा मेलालाई निरन्तरता दिए सँगै हाल होमबहादुरका छोरा गुप्त बहादुरले पनि उक्त मेलालाई संयोजन गर्दै निरन्तरता दिदै आउनु भएकोछ । गुप्त बहादुर के सी ले करिव १ रोपनी जग्गा कम्पाउण्ड गरि शिवालय मन्दिर बनाएर हरेक कार्तिक शुक्ल पुर्णिमाको दिन बिशष पुजा आजा गर्दै आएकाछन् ।
उक्त परिषरमा मौलोको रुपमा बहाने बजारबासी र आसपासका गाउँहरुबाट सरायँ सँगै विभिन्न नाचहरुले परिक्रमा गर्दै आएकाछन् । पछिल्लो समय गाउँपालिका र नौबहिनी गाउँपालिमा वडानं ६ ले पनि मेला सञ्चालनमा सहयोग गर्दै आएको केसीले जानकारी दिनुभयो ।



