प्यूठान । प्यूठानका विभिन्न बजार तथा गाउँहरुमा मह भन्दै नक्कली मह बिक्री गर्दै हिड्ने सप्तरी जिल्लाका मिथुन धामीको करिब ४ लाख बराबरको नक्कली मह प्यूठान प्रशासनले शोमबार नष्ट गरेकोछ ।

सप्तरी जिल्ला राजबिरान नगरपालिका ४ का धामी सहित ५ जनाको टोलीले बिक्री गर्दै हिडेको मह जस्तो देखिने ३ सय ९१ के जि अखाद्य पदार्थ प्रहरीले गत साउन ८ गते सरुमारानी गाउँपालिका वडा नंम्बर २ दर्भानबाट बरामत गरेको थियो ।बरामत गरिएको उक्त पदार्थलाई परिक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगंज पठाईएकोमा गुणस्तरहिन देखिए पछि नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानका प्रमुख मनी गुरुङ्गले जानकारी गराउनुभयो । प्यूठान भालुवाङ सडक खण्डमा प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा भालुबाङ देखि प्यूठान तर्फ आउदै गरेको ना ४ ख ४७०५ नम्बरको बसमा मह जस्तो देखिने पदार्थ फेला पारेपछि प्रकृया अगाडि बढाएको हो । ओसारपसार ईजाजत नलिइ लेबलिङ, प्याकेजिङ केही नभएको अवस्थामा प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा बरामद गरी नमुना परिक्षणको लागि घरेलु कार्यालयलाई पठाएको थियो ।
नमुना परिक्षणको लागि गत साउन ९ गते १ केजी पदार्थ खाद्य प्रविधि तथा गुण निययन्त्रण कार्यालय, नेपालगञ्ज पठाइएको र मंसिर ५ गते कार्यालयबाट अस्वभाविक गन्ध रहि जलाशंको मात्रा नेपाल सरकारले महको लागि तोकेको गुणस्तर अनुसार नभएको पुष्टि गरेपछि शोमबार नष्ट गरिएको कार्यालय प्रमुख गुरुङ्गले बताउनुभयो ।

प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार एवंम कार्यालयका कर्मचारीको रोहवरमा नष्ट गरिएको बताउनुभयो । उनीहरुले असली माहुरीको मह भन्दै जिल्लामा प्रति केजी १ हजार रुपैंयामा बेच्दै आएका थिए । बरामद गरिएको महमा उपभोक्ताहरुलाई विश्वास दिलाउन कृतिम मौरीका चाका सहित माहुरी समेत राखेको उहाँले बताउनुभयो ।
ब्यापारीहरुबाट सजिलै उपभोक्ताहरु ठगिन सक्ने भन्दै कुनै पनि सामान खरिद बिक्रि गर्दा बस्तुको लेबलिङ र प्याकेजिङ उल्लेख भए नभएको, उपभोग्य मिति, मुल्य सुची हेरेर मात्रै खरिद गर्न वा वास्तिविक किसान पहिचान गरि उनिहरु सँगमात्रै मह खरिद गर्न कार्यालयले आग्रह गरेकोछ ।




