२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
आज दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

बिर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ । सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका ३ जनाको मृत्यु भएको बताए ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।



