प्यूठान — प्यूठान नगरपालिका–८ का ८४ वर्षीय छविलाल पण्डितले आफ्नो जन्मथलोका जेष्ठ नागरिकप्रति उदाहरणीय सम्मान प्रकट गर्दै ८४ वर्ष उमेर पुगेका ३२ जनालाई विशेष कोशेली प्रदान गरेका छन्। वडामा रहेको धर्मावती स्वास्थ्य चौकीमार्फत आयोजित कार्यक्रममा पण्डितले जेष्ठ नागरिक मिलन तथा सम्मान संस्कृतिलाई संस्थागत गर्न दीर्घकालीन प्रयाससमेत अघि सारे।


उहाँले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी हरेक वर्ष जेष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएकामा, उनका कदमले प्रेरित भएर अन्य व्यक्तिहरूले थप सहयोग गरेपछि कोषको रकम हाल ३ लाख १ हजार ९७५ रुपैयाँ पुगेको जेष्ठ नागरिक कल्याण कोषका सदस्य–सचिव तथा स्वास्थ्य चौकी प्रमुख मिनबहादुर थापाले जानकारी दिए।

जिल्लामै पहिलोपटक यस्तो अभियान सञ्चालन गर्ने पण्डितले प्यूठानका ६४ वटै वडामा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण र जेष्ठ नागरिक कल्याण कोष स्थापना अनिवार्य रहेको धारणा राखे। उहाँका अनुसार मिलन केन्द्रमार्फत जेष्ठ नागरिकलाई सम्मान, सेवा, स्वास्थ्य सहयोग, अन्तरक्रिया, छलफल तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्न सकिनेछ।
हाल कोषको रकम पर्याप्त नभएकाले ८४ वर्षमाथिका जेष्ठ नागरिक सम्मान तथा कोशेली कार्यक्रमका लागि आवश्यक खर्च स्वयम् पण्डितले नै बेहोरेका हुन्। प्यूठान नगरपालिका–८ मा अहिले ८० वर्षभन्दा माथिका ६८ जना जेष्ठ नागरिक रहेका छन्।
समाजमा जेष्ठ नागरिकप्रतिको कदर र योगदानलाई सम्मानित गर्ने पण्डितको यो अभियान स्थानीयस्तरमै प्रेरणादायी कदमका रूपमा हेरिएको छ।





