
मोहनविक्रम सिंह
-आगामी चुनावमा कसैसित गठबन्धन वा चुनावी तालमेल नगरिकन एक्लै जाने हाम्रो नीति हुनेछ । हाम्रो पार्टीको २०८१ सालमा भएको नवौं महाधिवेशनले त्यही नीति घोषणा गरेको छ । हाम्रो पार्टीले एकातिर सैद्धान्तिक तथा अर्कातिर गतकालको विभिन्न पार्टीहरूसितको हाम्रो गठबन्धन वा चुनावी तालमेलको ठोस विश्लेषण गरेर त्यस प्रकारको नीति निर्धारित गरेको हो र आगामी चुनावमा पनि हामीले त्यही प्रकारको नीति अपनाउने छौँ ।
सिद्धान्ततः देशको राजनीति परिस्थिति वा आवश्यकता अनुसार कुनै विरोधी वा दुश्मन शक्तिसित पनि कार्यगत एकता, गठबन्धन वा चुनावी तालमेल गर्ने नीति आवश्यक र सही दुबै हुन्छ र गतकालमा कैयौँ पल्ट हामीले त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ र भविष्यमा पनि आवश्यकता अनुसार पारस्परिक समझदारीको आधारमा त्यस प्रकारको नीति अपनाउन सक्ने सम्भावनालाई हामीले अस्वीकार गर्दैनौँ । तर आगामी चुनावको सन्दर्भमा एक्लै जाने नीति नै हाम्रो पार्टीले निश्चित गरेको छ ।
हामीले २०४६ सालमा काँग्रेस सहित विभिन्न वामपन्थी शक्तिहरुसित गठबन्धन गरेर निरङ्कश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध संयुक्त रूपले सङ्घर्ष गरेका थियौँ । त्यो नीति सही थियो र त्यस प्रकारको नीतिको परिणामस्वरुप नै निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त भएको थियो ।
२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेपछि २०६२/०६३ सालमा वामपन्थी नेपाली काँग्रेस र मधेसवादी शक्तिहरूसँग संयुक्त आन्दोलन चलेको थियो । त्यो आन्दोलनको परिणामस्वरुप नै खाली निरङ्कुश राजतन्त्रको अन्त्य मात्र भएको थिएन, तर संविधान सभाको चुनाव भएर राजतन्त्र समेतको अन्त्य भएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले २/२ पल्ट संसदको विघटन गराएर देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गरेपछि हामीले राष्ट्रिय जनमोर्चा, माओवादी, एकिकृत समाजवादी, जसपा र नेपाली काँग्रेस सहितको संयुक्त जनआन्दोलनद्वारा ओलीको प्रयासलाई असफल बनाएका थियौँ ।
त्यसरी नेपालको राजनीतिमा कार्यगत एकता वा गठबन्धनका ऐतिहासिक उपलब्धिहरू रहेँदै आएका छन् । त्यस प्रकारको कार्यगत एकता र गठबन्धनबाट प्रतिगमनलाई बारम्बार धक्का पुग्ने गरेको हुनाले उनीहरूले त्यस प्रकारको गठबन्धनको लगातार आलोचना गर्दै आएका छन् । तर इतिहासले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धनको नीतिलाई बारम्बार सही सावित गर्दै आएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट हामीले चुनावी तालमेल गरेर चुनावमा भाग पनि लिएका थियौँ । त्यसरी तालमेल गर्दा संयुक्त रूपले उम्मेदवारहरू उठाउने र सहमति भएका उम्मेदवारहरूलाई सबैले समर्थन गर्ने समझदारी भएको थियो । हाम्रो पार्टीले वा राष्ट्रिय जनमोर्चाले त्यस प्रकारको सहमतिलाई इमानदारीतापूर्वक पालन ग¥यो । नेपाली काँग्रेसको संस्थापन पक्षले पनि त्यसबारे इमानदारीता नै देखायो भन्ने हाम्रो निष्कर्ष रहेको छ । तर त्यसको प्रतिपक्षले सहमतिका उम्मेदवारहरूसित अन्तर्घात गर्ने वा हराउने नीति अपनायो । माओवादीले पनि विभिन्न गाउँपालिका वा संसदीय चुनावका राष्ट्रिय जनमोर्चाका सहमतिका उम्मेदवारहरूप्रति अन्तर्घातको नीति अपनायो । तत्कालीन एकिकृत समाजवादीले पनि कतिपय गाउँपालिका वा प्रदेश स्तरका राजमोका सहमतिका उम्मेदवारहरूका विरुद्ध विद्रोही उम्मेदवारहरू उठाउने नीति अपनायो । जहाँसम्म जसपाको प्रश्न छ, त्योसित चुनावमा हाम्रो कतै प्रत्यक्ष प्रतिस्पर्धा रहेको थिएन र त्योसित हाम्रो कुनै प्रकारको अन्तर्विरोध पनि उत्पन्न भएन ।
पहिले एमालेसित भएका कतिपय चुनावी तालमेलमा पनि त्यसले अन्तर्घात गरेकोले आवश्यकता अनुसार सिद्धान्ततः गठबन्धन वा चुनावी तालमेलको नीति सही भएन । अन्य पक्षहरूले सहमति भएमा विषयमा इमान्दारीता नदेखाउने वा अन्तर्घात गर्ने कार्यशैली अपनाउने गरेको कुरामाथि ध्यान दिँदै हाम्रो पार्टीको नवौं महाधिवेशनले एक्लै चुनावमा जाने नीति ठेगान गरेको छ र पूरै पार्टीलाई त्यसरी नै सङ्गठनात्मक वा मानसिक रूपले तयारी गर्दै जाने निर्देशन दिएको छ ।
त्यही नीति अनुसार रुपन्देहीमा हुन थालेको उप–चुनावमा भाग लिने हाम्रो पार्टीको निर्णय थियो । तर संसदको नै विघटन भएपछि त्यो चुनाव हुन पाएन र हामीले त्यहाँ त्यो नीतिलाई प्रयोग गर्न पाएनौँ । तर आगामी हुने कुनै चनावमा हामीले त्यही नीतिलाई अनुशरण गर्नेछौँ ।
हाम्रो लागि एक्लै चुनावमा जाने नीति कुनै नयाँ नीति होइन र पहिले पनि हामीले कैयौंपल्ट एक्लै चुनावमा जाने नीतिको अभ्यास गर्दै आएका छौँ । त्यसरी बाग्लुङ्ग, प्यूठान र अर्घाखाँचीमा कैयौँ संसदीय क्षेत्रहरूमा तथा कैयौँ जिल्लाहरूका स्थानीय चुनावहरूमा महŒवपूर्ण विजय प्राप्त गरेको हाम्रो इतिहास छ ।
संसदीय चुनाव हाम्रा लागि सबै थोक होइन । रणनीतिक वा सैद्धान्तिक रूपले हामीले त्यसलाई अस्वीकार गर्दछाँै र संसदीय प्रणालीलाई समाप्त गरेर त्यसका ठाउँमा नयाँ जनवादी व्यवस्था कायम गर्ने हाम्रो आधारभुत लक्ष्य रहेको छ । तर त्यसका लागि परिस्थिति वा आधार तयार पार्नका लागि संसदीय चुनावको पनि उपयोग गर्ने हाम्रो कार्यनीति रहेको छ । जुनबेला चुनावको बहिष्कारद्वारा आन्दोलनलाई उच्च स्तरमा उठाउने सम्भावना रहन्छ । त्यो बेला हामीले चुनावको बहिस्कारको नीति अपनाउछौँ । तर त्यस्तो सम्भावना कम भएको बेलामा हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाउछौँ ।
चुनावलाई उपयोग गर्दा पनि हाम्रो मुख्य जोड त्यसको भण्डाफोर गर्नेतिर नै बढी हुन्छ । अहिले हामीले चुनावमा एक्लै जाने नीति अपनाएका छौँ । त्यो क्रममा पनि हाम्रो मुख्य जोड संसदीय प्रणाली वा अन्य राजनीतिक पार्टीको भण्डाफोर गर्नेतिर तथा त्यसरी जनताको चेतना उठाउने र नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति वा आधार निर्माण गर्नेतिर नै बढी हुनेछ । हामीलाई के विश्वास छ भने हामीले अन्य पक्षहरूसित गठबन्धन वा चुनावी तालमेल गरेर चुनावमा भाग लिएको बेलामा भन्दा एक्लै चुनाव लड्दा त्यो कार्य बढी प्रभावशाली र व्यापक रूपले गर्न सक्नेछाैँ ।
अन्य पक्षहरूसित चुनावी तालमेल गरेर चुनाव लड्दा हामीले देशका धेरैजसो निर्वाचन क्षेत्रहरूलाई छाडेर एकाध क्षेत्रहरूमा मात्र चुनाव लड्नु पर्दथ्यो, र अन्य क्षेत्रहरुमा अन्य राजनीतिक पार्टीहरूका लागि छाडिदिनु पर्दथ्यो । तर एक्लै चुनाव लड्दा हामीले देशभरि धेरै क्षेत्रहरूमा चुनाव लड्न सक्नेछौं । त्यसरी देशभरि नै हामीले आफ्ना कार्यकर्ताहरूको परिचालन गर्न देशभरि नै राजनीतिक भण्डाफोर गर्न र जनताको चेतना उठाउन, व्यापक रूपले जनआधारको निर्माण गर्न तथा सङ्गठनलाई देशव्यापी रूपमा विस्तार गर्न सफल हुनेछौँ । कतिपय विरोधी पक्षहरूले मात्र होइन, कतिपय हाम्रा इमान्दार समर्थकहरूले पनि एक्लै चुनाव लड्दा हामीलाई बढी क्षति पुग्न सक्दछ भनेर सोच्न पनि सक्दछन् । त्यो कुरामा सत्यता पनि छ र एक्लै चुनाव लड्दा हामीलाई कतिपय अर्थमा नोक्सान पनि पुग्न सक्दछ । त्यो एउटा पक्ष हो, तर त्यसको अर्काे महत्वपूर्ण पक्ष के हो भने, एक्लै चुनाव लड्दा हामीलाई कैयौँ महत्वपूर्ण लाभहरू पनि पुग्न सक्दछन्, जो दीर्घकालीन महत्वका हुन सक्दछन् । त्यसैले हाम्रो ध्यान सकारात्मक र दीर्घकालीन पक्षतिर नै केन्द्रित हुनुपर्दछ ।



