प्यूठान। मनोनयन दर्ता सकिएसँगै नेपाली कांग्रेसले प्यूठानमा चुनावी अभियानलाई तीव्र बनाएको छ। माघ ९ गतेदेखि पालिका तहमा सुरु गरिएको कार्यकर्ता भेटघाट अभियान अन्तर्गत कांग्रेसले हालसम्म ७ वटा पालिकामा रणनीतिक कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।


माघ १६ गते शहिद दिवसको अवसरमा जिल्लाका ९ वटै पालिका पुग्दै ६४ वडामा एकैदिन निर्वाचन केन्द्रित प्रचार कार्यक्रम आयोजना गरिने निर्वाचन परिचालन समिति संयोजक तथा कांग्रेस प्यूठान सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले प्राडा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएर मैदानमा उत्रिएको छ। प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, सरुमारानी, ऐरावती, मल्लरानी, माण्डवी र नौबहिनी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट तथा पालिका तहका निर्वाचन परिचालन समिति गठन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ।
माघ १५ गते बिहिबार गौमुखी र माघ १६ गते झिमरुक गाउँपालिकामा समेत भेटघाट तथा समिति गठन हुने र शहिद दिवसकै दिन सबै वडामा चुनावी कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि खटाइएको कांग्रेस प्यूठानका पूर्व सभापति अमर प्रसाद भण्डारीले बताउनुभयो। माघ १६ गतेदेखि वडा र बुथ केन्द्रित प्रचार अभियान औपचारिक रूपमा सुरु हुने उहाँको भनाइ छ।


राष्ट्रिय स्तरमा अनुभव हासिल गरेका उम्मेदवारका कारण मतदातामा कांग्रेसप्रतिको आकर्षण र उत्साह बढ्दै गएको सभापति गिरीले बताउनुभयो।



