प्यूठान । नेपाल र ईन्डिया बिच हुने ईन्डो-नेपाल कराते प्रतियोगिता यसपटक प्यूठानमा शनिवारदेखी सुरु भएकोछ ।
खेल क्षेत्रको बिस्तार र विकासका लागि शहर देखि गाउँ सम्म खेल सञ्चालन गर्ने उद्देश्य सहित प्यूठानमा खेल आयोजना गरिएको कराते महासंघको केन्द्रीय सदस्य तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री कमला रानाले बताईन् । खेल आईतबार सम्म चल्ने छ ।

शितो रियो कराते डोजो लुङ्ग प्यूठान आयोजक रहेको उक्त खेलमा नेपाल, भारत र भुटानका गरि जम्मा २ सय ४४ जना खेलाडी बिच दुईदिन प्रतिस्पर्धा हुनेछ । नेपालका पनि विभिन्न जिल्लाका खेलाडिहरुले खेलमा भाग लिने आयोजकले बताएकोछ ।

खेलमा नेपालका १ सय २४ जना, ईन्डियाको देहरादुनबाट ९५ र दिल्लीबाट १४ , भुटानका ११ जना खेडाडी बिच कुमुते(फाईट), एकल काटा, टिम काटा, टिमकाटामा महिला र पुरुष करातेमा प्रतिस्पर्धा गर्ने कराते संघकी केन्द्रीय सदस्य रानाले बताईन् ।

उनका अनुसार ३० केजि देखि ७० सम्म महिला पुरुष उमेर अनुसार नभै तौल अनुसार खेलमा प्रतिस्पर्धा हुनेछ । भुगोल र खेल पुर्बाधार अनुसार खेलाडिबिच प्रतिस्पर्धा हुने बताईएकोछ ।
खेलको संयोजन नेपाल कराते महासंघ प्रदेश सचिब मोहलाल थापाले गरिरहेकाछन् । शनिवार अप्राहन्न देखि सुरु भएको खेलको उद्घाटन राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गरेका हुन् । उनले गाउँगाउमा बस्ने युवा तथा बालबालिकाहरुलाई खेलमा पहुच पुर्याउन प्यूठानमा खेल सञ्चालन गरेकाेमा खुसी व्यक्त गरे । 
खेलमा भागलिन आएका खेलाडीहरु तथा प्रशिक्षकहरुले जिल्लामा जस्तो अवस्था छ त्यसैअनुसार बसाई व्यवस्थापन गरेकाे बताए । खेलाडी र प्रशिक्षकहरुलाई प्यूठानको जुम्री र बाग्दुलाका होटलहरुमा बसाई व्यवस्थापन गरिएको छ भने खेल प्यूठान न पा ७ स्थित खेलकुद विकास समितिको कवर्डहलमा चलिरहेकोछ । खेल आईतबार साँझ सम्पन्न हुने आयोजकले बताएकोछ ।




