३०१ शिक्षक र विद्यार्थीले लिए सहभागिता, प्रविधिमैत्री शिक्षाको अभ्यास सुरु
सम्बाददाता
प्यूठान । जिल्लाका पाँच क्याम्पस र पाँच माध्यमिक विद्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) तथा ChatGPT प्रयोगसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा फागुन २६ देखि चैत २२ गतेसम्म संचालन भएको उक्त तालिममा कुल ३०१ जना सहभागी भएको कार्यालयका ईन्जिनियर पारस भण्डारीले बताए ।
फागुन २६ गते अमर माबि भिंगृबाट लुम्बिनी प्रदेश सांसद निमा गिरीले उद्घाटन गरि चैत २२ गते स्वर्गद्वारी क्याम्पस पुण्ड्यखोलाबाट तालिम समापन गरेकी छन् । उनले तालिम बिश्व प्रबिधि सँग आफू सुरक्षित रही कसरी सहि सदुपयोग गर्न सकिन्छ भनेर सिक्ने अवसर पाएकाले तालिम निकै उपलब्धि मुलक र जीवन उपयोगि समेत भएको बताएकी छन् ।


(BE Electronics & Communication), IOE थापाथली क्याम्पसका प्रशिक्षक महेश बन्जाडेले नया प्रबिधि प्रति युवापंतीको चासो बढ्दै गएको बताए । उनले भने, “प्यूठानका विद्यार्थीमा प्राविधिक जिज्ञासा अद्भुत छ। यिनले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता देखिएको छ। यस्तो तालिमले शिक्षा प्रणालीमा नयाँ गति ल्याउँछ।”

तालिममा सहभागी स्वर्गद्वारी क्याम्पस स्नातक तहमा अध्ययनरत केसर सुनारले पाठ्यक्रमको अध्ययन मात्र नभई डिजिटल प्रबिधिलाई पनि कसरी सहि सदुपयोग गर्ने भन्ने बिषयमा तालिम उपलब्धि मुलक भएको बताए । उनले भने, “AI भनेको केवल रोबोट होइन रहेछ। यसको प्रयोग हाम्रो पढाइमै सम्भव छ भन्ने थाहा पाएँ।”
प्यूठान क्याम्पस खलंगाकी प्रचार्य कल्पना खड्काले ChatGPT जस्ता उपकरणलाई पढाइको सहायकको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा बुझ्न पाएको बताईन। उनका लागि पनि तालिम उपयोगी भयो।

“प्रविधिको ज्ञान अब ग्रामीण क्षेत्रसम्म पुर्याउने समय आएको छ। यस तालिमले त्यसको थालनी गरेको छ।” स्वर्गद्वारी नगरपालिका नगरप्रमुख टेकप्रसाद भण्डारीको भनाई छ । यस्तै प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु योगीले शिक्षामा डिजिटल पहुँचलाई व्यवहारिक बनाउने काम भएको बताए । उनले भने, “यो कामलाई आगामी दिनमा निरन्तरता दिइनेछ।” मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्काले अहिलेको प्रबिधिलाई समयानुकूल सदुपयोग र व्यवहारिक हिसावले उपभोग्य बनाउन तालिम सान्दर्भिक भएको बताए । तालिम अनुगमन पनि सम्बन्धित स्थानियतहबाटै गरिएको थियो ।

तालिमको मुख्य सन्देश “सुरक्षित प्राविधिक प्रयोग – शिक्षामा नवप्रवर्तन, AI सँगै अब गाउँको क्लासरूम पनि स्मार्ट बन्छ!” भन्ने रहेकोछ ।




