लुम्बिनी प्रदेश । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ । 
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै शुक्रबार उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधशी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।
त्यसैगरी बुटवल स्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
यसअघि रविलाई कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका थिए । उता छविलाई भने रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।
थुनामा पठाउनुका पाँच प्रमुख आधार:
१, सहकारीको रकम अपचलन:– सुप्रिम सहकारीको बचत अपचलन भएको आरोप।– लामिछानेको संलग्नतामा गोर्खा मिडियामा सो रकम गएको दाबी।
२, अनुचित ऋण प्रवाह:– कानुनी रूपमा ऋण लिन नपाउने गोर्खा मिडियाले लामिछानेकै संलग्नतामा सहकारीबाट ऋण लिएको।
३, अविश्वसनीय बयान:– लामिछानेले ऋणबारे अनभिज्ञ रहेको बताए पनि गोर्खा मिडियाले ४० लाख ९२ हजार रुपैयाँ फिर्ता गरिसकेको तथ्य।
४, बचेका प्रमाण र अनुसन्धान:– थप लिखत प्रमाणहरू तथा लेखा कर्मचारीहरूको बयान आउन बाँकी।५, जनविश्वास संरक्षण:– पीडित सर्वसाधारणको संवेदनालाई ध्यान दिँदै अदालतले धरौटी अस्वीकार गर्दै थुनामा पठाउने निर्णय।
यस निर्णयले नेपालमा सहकारी ठगीसम्बन्धी कानुनी कारबाहीमा नयाँ नजीर स्थापित गर्ने विश्वास गरिएको छ।



