प्यूठान – माध्यमिक शिक्षा परीक्षा (SEE) चैत ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको माध्यमिक परिक्षा बोर्डले जनाएको छ।

प्यूठानमा ८५ विद्यालयका ४,९४० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा खड्काका अनुसार ७८ सामुदायिक र ७ संस्थागत विद्यालयका विद्यार्थीले १७ परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन्।

गत वर्षसम्म कक्षा १० सञ्चालन गर्ने ७३ सामुदायिक विद्यालयबाट विद्यार्थी सहभागी भए पनि यस वर्ष ५ विद्यालय थपिएर संख्या ७८ पुगेको छ।
विद्यार्थीको विवरण:
नियमित: ३,४६९ जना
प्राविधिक: १९६ जना
ग्रेड वृद्धि: १,२५६ जना
प्राविधिक ग्रेड वृद्धि: १९ जना
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, पर्यवेक्षकलगायत ७०० भन्दा बढी जनशक्ति परिचालन हुने प्रमुख खड्काले जानकारी दिए। भोलि पहिलो दिन अंग्रेजी बिषयको परीक्षा सञ्चालन हुनेछ ।



