प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्यूठानमा स्ववियु निर्वाचन स्थगित गरिएपछि विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। जिल्लाकै पुरानो र प्रमुख विद्यार्थी संगठनहरूको चासोको विषय रहेको उक्त क्याम्पसमा निर्वाचन समितिले “निर्वाचन गर्न उपयुक्त वातावरण नभएको” भन्दै क्याम्पस प्रशासनलाई जानकारी गराएपछि निर्वाचन चैत १४ गतेसम्मका लागि स्थगित गरिएको हो।

तर, निर्वाचन अधिकृत यज्ञबीर पाण्डेले निर्वाचन स्थगित गर्नुको ठोस कारण खुलाउन अस्वीकार गरे। “के कारणले निर्वाचनको वातावरण नभएको हो?” भन्ने प्रश्नमा उनले भने, “त्यो तपाईंले बुझ्नुहुन्छ। उपयुक्त वातावरण भएन। यदि सहज भयो भने चैत १४ गते निर्वाचन हुन्छ।”

स्ववियु निर्वाचनका लागि कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, मसाल निकट अखिल छैटौँ, विप्लव निकट अखिल समाजवादी लगायतका विद्यार्थी संगठनहरूको संयुक्त प्यानल र एमाले निकट अनेरास्ववियुको छुट्टै प्यानलबीच प्रतिस्पर्धा हुँदै थियो। संयुक्त प्यानलको नेतृत्व अखिल क्रान्तिकारीका केशर सुनारले गरेका छन् भने अनेरास्ववियु प्यानलको नेतृत्व अनेरास्ववियु प्यूठानका अध्यक्ष तथा क्याम्पस स्ववियु सभापति टेकराज केसीले गरेका छन्।
संयुक्त प्यानलका नेताहरुले निर्बाचन अधिकृतको राजिनामा माग गर्दै नाराबाजी गरेकाछन् भने अनेरास्ववियुले आफ्नो जित सुनिश्चित देखेपछि संयुक्त गठबन्धनले आफैले बखेडा गर्न खोजेको आरोप लगाएकोछ ।
निर्वाचन स्थगित हुनुको मुख्य कारण भने क्याम्पसका प्राध्यापक सुशील पोखरेल र कम्प्युटर अपरेटर बाबुराम उपाध्यायमाथि उठेका आरोपहरू रहेको बुझिएको छ। अनेरास्ववियुले ती कर्मचारीहरूले संयुक्त प्यानलका उम्मेदवारलाई जिताउन विद्यार्थीहरूलाई काउन्सिलिङ गरेको आरोप लगाउँदै उनीहरूलाई बर्खास्त गर्न माग गरेको थियो। यसै विषयमा विवाद चुलिएपछि निर्वाचन स्थगित गरिएको हो।
तर, संयुक्त विद्यार्थी संगठनका नेताहरूले अनेरास्ववियुले निर्वाचनमा हार्ने डरले बखेडा झिकेर निर्वाचन भाड्न खोजेको आरोप लगाएका छन्। क्याम्पस बाहिर बिद्यार्थी संगठनहरुले नाराबाजी गर्दै निर्वाचन यथाशक्य छिटो गराउन माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्।



