प्यूठान । पाँच बर्ष देखि अलपत्र अवस्थामा रहेको प्यूठान नगरपालिका ८ दम्तीको बिद्युत सव-स्टेसन सञ्चालन गर्ने तयारी भैरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएकोछ ।
बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्र जुम्रीका अनुसार दम्ती पावर स्टेशनमा ३३ के.भी. लाईन चार्ज गर्ने तयारी भैरहेको छ । केन्द्रले सूचना जारी गर्दै चार्ज पश्चात सवस्टेशन सञ्चालन गर्ने तयारी भएको जनाएको हो । गत कात्तिक ६ गते जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले तिहार अगाडी सवस्टेशन सञ्चालन गर्न निर्देशन भएको थियो ।

दम्ती सव-स्टेशन सञ्चालनको अन्तिम तयारी भइरहेकाले झिमरुक खोला किनारका पोल, बिद्युत संरचना लगायतका चिजहरु हातले नछुन प्राधिकरणले आग्रह गरेको छ ।

प्यूठान लगायत छिमेकी जिल्लाहरुमा प्रसारित लाईनमा धेरै समस्या आईरहने भएका कारण ३३ केविए लाई ११ केविएमा कन्भर्ट गर्न पाँच बर्ष अघि प्यूठान नगरपालिका ८ दम्तीमा सव-स्टेसन निर्माण थाले पनि ठेकदारले विभिन्न वाहाना गर्दै काम समयमै सम्पन्न नगरेपछि उक्त योजना अलपत्र परेको थियो।
प्राधिकरणले ठेगदार सँगको सम्झौता तोडेर काम अघि बढाएपछि अहिले बाँकी काम सञ्चालन भैरहेको प्राधिकरण प्यूठानका ईन्जिनियर प्रज्वल हुमागाँईले बताए ।
अहिले पोलमा लाईन बिस्तार गर्ने काम भैरहेको उनले बताए । केही ठाउँमा रुख कटान गर्नु पर्ने काम बाकी भएपनि सव-स्टेसन चार्जिङ सँगै बाँकी काम निरन्तर हुने प्राधिकरणले जनाएकोछ ।
३३ केविए भोल्टेजको प्रशारण लाईनलाई ११ केविएमा कन्भर्ट गरि बितरण गर्दा बिद्युत बितरण र सम्भावित बिद्युतिय जोखिमको न्युनिकरण हुने प्राधिकरणले बताएको छ ।



