प्यूठान — जिल्लाभर अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक, डेण्टल सेवा र मेडिकल हलहरूले बिरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको छ। सम्बन्धित निकायको कमजोर अनुगमन र कारबाही अभावका कारण यो समस्या वर्षौंदेखि जरा गाड्दै गएको स्थानीयको गुनासो छ।

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका अनुसार हालसम्म जिल्लामा मापदण्ड पूरा गरी दर्ता भएका पोलिक्लिनिक जम्मा दुईवटा मात्रै छन्। तर ९ वटै स्थानीय तहका मुख्य बजारदेखि गाउँगाउँसम्म अनधिकृत रूपमा क्लिनिक, डेण्टल र मेडिकल सञ्चालन भइरहेका छन्। अनुगमनका क्रममा कतिपयले अर्कै व्यक्तिको नाममा फार्मेसी चलाउने, मापदण्ड विपरीत बिरामी जाँच गर्ने र जथाभावि औषधि बिक्री गर्ने गरेको फेला परेको छ।
स्वास्थ्य कार्यालयका अनुसार, मेडिकल हलहरूलाई औषधि बिक्रीको मात्र अनुमति हुन्छ। तर नेपाल औषधि व्यवसायी संघ प्यूठानमा आबद्ध करिब ४४ पसल र सिएमए संघसँग आबद्ध करिब ९० पसलमध्ये धेरैले आफ्नो क्षेत्राधिकार नाघेर बिरामी जाँच गर्ने, औषधि सिफारिस गर्ने र उपचारसमेत गर्ने गरेका छन्। गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि जैसी भन्छन्, “कसैले क्लिनिक त कसैले मेडिकल हलको नाममा बिरामी जाँच्ने र जथाभावि औषधि बेच्ने काम गरिरहेका छन्।” जिल्लामा करिब १४ वटा डेण्टल क्लिनिक छन् । तर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जम्मा ४ वटा मात्र कानुनत: दर्ता भएका छन् , बाकी १० वटा अबैध छन् ।
अनुगमनका क्रममा गाउँस्तरका मेडिकलहरूमा गर्भपतन गराउने औषधिसमेत अवैध रूपमा बिक्री भइरहेको पाइएको छ। यस्तो गतिविधिले महिलाको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चिकित्सकहरूको चेतावनी छ।
कानुनी व्यवस्था अनुसार पोलिक्लिनिक जिल्ला स्वास्थ्य कार्यालयमा, क्लिनिक स्थानीय तहको सिफारिसमा र औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ। तर विगतमा स्थानीय तहलाई क्लिनिक दर्ताको अधिकार दिइए पनि कार्यविधि अभावका कारण कार्यान्वयन हुन सकेन। प्यूठान नगरपालिकाले मात्र कार्यविधि बनाएको भए पनि मापदण्ड पूरा गरेर दर्ता हुन आउने कोही देखिएनन्।
हाल भने पोलिक्लिनिक र क्लिनिक दर्ता अधिकार पुनः जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत ल्याइएको छ। पोलिक्लिनिक सञ्चालनका लागि विशेषज्ञ डाक्टर, आफ्नै फार्मेसी, बेड, ल्याब, एक्स–रे र पार्किङ जस्ता पूर्वाधार अनिवार्य छन् भने क्लिनिकका लागि एमबिबिएस डाक्टरसहित आधारभूत संरचना आवश्यक पर्छ। तर अधिकांश सञ्चालनमा रहेका संस्थाले यी मापदण्ड पूरा नगरेको कार्यालयले जनाएको छ।
क्लिनिक सञ्चालनका लागि मुख्य कुरा भनेको पहिले कानुनी रूपमा दर्ता भएर अनुमति लिनु हो। त्यसपछि योग्य डाक्टरको उपस्थिति अनिवार्य हुन्छ। क्लिनिकमा आधारभूत पूर्वाधार—जाँच कोठा, प्रतीक्षालय, सरसफाइ र आवश्यक उपकरण—हुनुपर्छ। औषधि पनि दर्ता भएको फार्मेसीमार्फत मात्र वितरण गर्न पाइन्छ। साथै बिरामीको रेकर्ड राख्ने र स्वास्थ्य फोहोर सुरक्षित व्यवस्थापन गर्ने व्यवस्था हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण, क्लिनिकले आफ्नो अनुमति र क्षमताभन्दा बाहिरको सेवा दिन पाउँदैन।
यस्तै पोलिक्लिनिक सञ्चालनका लागि सबैभन्दा पहिले जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता भएर अनुमति लिनुपर्छ। यहाँ सामान्य डाक्टर मात्र होइन, विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरूको उपलब्धता अनिवार्य हुन्छ।
पोलिक्लिनिकमा आफ्नै दर्ता भएको फार्मेसी, प्रयोगशाला (ल्याब), आवश्यक परे एक्स–रे/डायग्नोस्टिक सेवा जस्ता सुविधा हुनुपर्छ। बिरामीका लागि पर्याप्त ओपीडी कक्ष, बेड, प्रतीक्षालय, शौचालय, पार्किङ लगायतका पूर्वाधार अनिवार्य मानिन्छ।
यससँगै, सबै सेवा सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न योग्य स्वास्थ्यकर्मी, उपकरण, अभिलेख प्रणाली र फोहोर व्यवस्थापन राम्रो हुनुपर्छ।
क्लिनिक सञ्चालकहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सबै स्थानीय तहमार्फत १५ दिनभित्र मापदण्ड पूरा गरी दर्ता हुन सूचना जारी गरेको थियो। तर एक महिना बित्न लाग्दा पनि अधिकांश सञ्चालक अटेरी गर्दै अवैध रूपमा सेवा सञ्चालन गरिरहेका छन्।
यसैबीच प्रशासनले सरुमारानी गाउँपालिकाको बड्डाँडा बजारमा सञ्चालनमा रहेको एक पोलिक्लिनिक सिल गरेको छ भने माण्डवी गाउँपालिकाको जस्पुरस्थित अर्को पोलिक्लिनिकलाई तत्काल दर्ता गर्न अल्टिमेटम दिइएको छ। हाल प्यूठान नगरपालिका क्षेत्रमा रहेका निमतारा र स्वर्गद्वारी लाइफ केयर पोलिक्लिनिक मात्रै वैधानिक रूपमा दर्तामा छन्। डेण्टल क्लिनिक पनि नगरपालिका क्षेत्रमा चारवटा मात्र दर्ता छन्।
औषधि व्यवस्था विभागले देशभरबाट अनुगमन गर्ने व्यवस्था भए पनि “अनुगमन आएको सूचना पाउनासाथ मापदण्डअनुसार देखाउने र पछि फेरि पुरानै अवस्था फर्किने” प्रवृत्ति रहेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन्। आन्तरिक मिलेमतोका कारण कारबाही प्रभावकारी नभएको आरोप पनि उठेको छ।
उता, सरकारले एम्बुलेन्स सेवामा समेत कडाइ गरेको छ। अब स्वास्थ्य संस्था बाहेक अन्य संघसंस्थाले एम्बुलेन्स सञ्चालन गर्न नपाउने र अनिवार्य रूपमा स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान लागू गरिएको छ। प्यूठानमा हाल करिब २३ एम्बुलेन्स सञ्चालनमा रहे पनि केही सरकारी एम्बुलेन्ससमेत मापदण्ड विपरीत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
समग्रमा, नियमनको कमजोरी र सम्बन्धित निकायबीच समन्वय अभावका कारण प्यूठानमा स्वास्थ्य सेवा क्षेत्र अव्यवस्थित बन्दै गएको छ। समयमै प्रभावकारी अनुगमन र कडा कारबाही नगरे यसले जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याउने देखिन्छ।



