प्यूठान।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्यूठानको राजनीतिक समीकरण नाटकीय रूपमा बदलिँदै गएको छ। नेकपा एमालेका उम्मेदवार सुर्य थापालाई पराजित गर्ने उद्घोषसहित एमालेबाटै २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका चेत बहादुर पुन सहित दर्जनौँ संगठित एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सरुमारानी गाउँपालिका वडा नं. १ का एक दर्जनभन्दा बढी संगठित सदस्यहरूले एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेसँगै प्यूठानको चुनावी माहोल कांग्रेसतर्फ स्पष्ट रूपमा मोडिएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ। कांग्रेसका अनुसार यसपटकको निर्वाचनमा एमाले उम्मेदवार सुर्य थापा र कांग्रेस उम्मेदवार डा. गोविन्दराज पोख्रेल बीच मुख्य प्रतिस्पर्धा देखिए पनि पछिल्ला घटनाक्रमले डा. पोख्रेलको जित लगभग सुनिश्चित देखिएको छ।
यस्तै, २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको परिचालन समितिअन्तर्गत युवा समिति इन्चार्ज शोभ बहादुर मर्साइ समेत कांग्रेस प्रवेश गरेका छन्।
नवप्रवेशीहरूले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ अभियानप्रति उत्साहित हुँदै रुपान्तरित कांग्रेस नै जनताको वास्तविक विकल्प भएको बताएका छन्।
उनीहरूको भनाइ छ—
लोकतान्त्रिक व्यवस्थामै पनि एमाले यथास्थितिवादी सोचमा अडिएको दल बनेको, प्यूठानका एमाले उम्मेदवारले मजदुर र वैदेशिक रोजगारीमा गएका युवालाई ‘भेडा’ भन्ने, जनतालाई अपमान र कटाक्ष गर्ने प्रवृत्ति देखाएपछि यस्तो राजनीतिक चरित्र अस्वीकार्य भएको हो। यही कारण आफूहरू जनताको सम्मान गर्ने कांग्रेसमा गोलबद्ध भएको उनीहरूले स्पष्ट पारे। उनिहरुले भने,”लुम्बिनी प्रदेशका मन्त्री रोज राणाको काम देखेर पनि प्रभावित भयौँ, डा. पोख्रेल योजना आयोगमा रहँदा प्यूठानमा धेरै योजना दिनु भो, जितेर सांसद बन्नु भयो भने पक्कै जिल्लाको मुहार बदल्न हुनेछ भन्ने आसा छ ।’
नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुख चिन्हमा मतदान गरी डा. गोविन्दराज पोख्रेललाई विजयी गराउन सम्पूर्ण जिल्लावासीलाई आह्वानसमेत गरेका छन्।
कांग्रेस प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. गोविन्दराज पोख्रेल, प्रदेश सह–महामन्त्री निमा गिरी, पूर्व सभापति अमरप्रसाद भण्डारी, पूर्व सचिव शिव रिजाल, तरुण दल जिल्ला अध्यक्ष कृष्ण बसेको (रोयल), नेविसंघ जिल्ला अध्यक्ष कल्याण विक्रम केसी, नेपाल यातायात मजदुर संघ जिल्ला अध्लयक्ष हरि खड्का लगायत सरुमारानी गाउँपालिकाका कांग्रेस नेताहरूले नवप्रवेशीहरूलाई सम्मानसहित पार्टीमा स्वागत गरेका थिए।

प्यूठानको राजनीतिमा आएको यो ठूलो धक्का एमालेका लागि चेतावनी र कांग्रेसका लागि निर्णायक मोड बनेको विश्लेषकहरू बताउँछन्। नेपाली कांग्रेसले दोस्रो चरणको प्रचारप्रसार कार्यक्रम प्यूठानको सरुमारानी गा पा १ बाटै सुरु गरेको हो ।



