भिमकला कुवर
प्युठान । प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर अंकित हुलाक टिकट प्रचलन आएको छ । हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ दुई नयाँ टिकट आजदेखि प्रचलनमा ल्याएको हो ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् । विभागले सप्ताहव्यापी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा टाँचा प्रदान गरेको छ । सोमबार देखि लागु हुने गरि १० रुपियाँ मूल्य रहेको दुई टिकट प्रचलन ल्याईएको हुलाक सेवा विभागले जनाएको छ ।
नेपाल बाइसे र चौविसे राज्यमा सञ्चालन अवधिमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको प्युठान नगरपालिका ४ स्थित ‘भित्रीकोट दरबार’ र भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचिन कपिलवस्तु तिलौराकोटको खोजअनुसन्धान गरी जमिनबाट उत्खनन् गरिएको ऐतिहासीक ‘पञ्चमार्क मुद्रा’ हो ।

कार्यक्रमलाई सम्बोधन गदै सञ्चार मन्त्री गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधै जगेर्ना गर्ने दस्तावेजको रुपमा रहने बताए । उनले टिकटमा राजनीतिक गतिविधि र सत्तामा रहेका नेताहरुको बढी टिकट भए पनि मुलुकमा लोपोन्मुख रहेका कला संस्कृति, वनजन्तु, रैथाने जीवनशैलीहरु खोजेर दस्तावेज गर्न छुटेको बताए ।
ऐतिहासिक भित्रीकोट दरबार चौबीसे राज्य अन्तर्गत प्युठानको राजधानी मानिने जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । ऐतिहासिक सम्पदालाई देशभर चिनाउनको लागि राम्रो अवसर प्राप्त भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले बताएकाछन् । हुलाक टिकटको प्रकाशनले भित्रीकोट दरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न मद्दत पुग्ने उनको भनाई छ। दरबारसंगै प्युठान नगरपालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीयस्थलको प्रबद्र्धनको लागि नगरपालिकाले प्राथमिकता दिएको उनले बताए ।



