बुटवल । प्रजातन्त्रवादी स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अध्यक्षमा दिपकराज भट्ट र लुम्बिनी प्रदेशको अध्यक्षमा कौषलराज बैद्य सर्वसम्मत निर्वाचित भएका छन् ।
संगठनलाई नयाँ दिशातर्फ अगाडि बढाउने अपेक्षासहित सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ। सहमति,एकता र साझा प्रतिबद्धताको सन्देश दिँदै संघको आठौं केन्द्रीय अधिवेशनले केन्द्रीय अध्यक्ष भट्ट र लुम्बिनी प्रदेश अध्यक्ष वैद्यलाई निर्विरोध निर्वाचित गरेको हो। यस्तै दुर्गा देवी र नरेशबाबु श्रेष्ठ लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा चयन भएका छन् । प्युठानका हरि जैसी केन्द्रीय सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् ।


संगठनभित्रको विश्वास र सहकार्यको वातावरण झल्काउने गरी निर्विरोध नेतृत्व चयनले संघभित्र बढ्दो संगठनात्मक परिपक्वता र एकतालाई उजागर गरेको नव निर्वाचित अध्यक्ष बैद्यले बताए ।
स्वास्थ्यकर्मीहरूले भोग्दै आएका यथार्थ समस्या र चुनौतीहरूबारे गम्भीर समिक्षा गर्दै कार्यस्थलको सुरक्षा, सेवा सुविधा, पेशागत सम्मान, रोजगारीको स्थायित्व तथा प्रदेश तथा जिल्लाहरूमा स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयलाई सुदृढ बनाउने केन्द्रीय अध्यक्षमा निर्वाचित दिपकराज भट्टले बताए ।

लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित कौशलराज बैद्य निबर्तमान केन्द्रीय सचिव थिए । उनि जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा कोल्चेन अधिकृतका रूपमा कार्यरत छन् । उनले आफू नेतृत्वको समितिले संगठन विस्तार तथा प्रदेशभर स्वास्थ्य सेवाको गुणस्तर सुधारमा संघले निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,”प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै सबै स्वास्थ्यकर्मीका जायज माग र मुद्दाहरूलाई नीतिगत तहसम्म पुर्याउने छौँ ।”

अधिवेशनले आगामी कार्यकालका लागि संगठनलाई पालिका तहसम्म विस्तार गर्ने, सदस्यता अभियान सञ्चालन गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको छ।



