प्यूठान । जिल्लाको सम्पुर्ण शक्तिको दवावका कारण ५ बर्ष अघिदेखि अलपत्र दम्ती बिद्युत सव-स्टेशन १२ दिनमै सञ्चालनमा आएकोछ । बिद्युत लाईनको कामको ठेक्का लिएको ठेकदारले काम नगरेपछि बिद्युत प्राधिकरणले ठेक्का तोडेर आफ्नै आन्तरिक जनशक्ति सहित ज्यालामा मज्दुर प्रयोग गरेर एकबर्ष लाग्ने काम दुई हप्ता नपुग्दै कामलाई साम्य पार्दै सव-स्टेसन सञ्चालनमा ल्याएको हो ।

बाह्र दिन अघि प्रमुख जिल्ला अधिकारीको रमा आचार्यको समन्वयमा भएको सर्बपक्षिय छलफलबाट तिहार अघि जसरी पनि सव-स्टेसन सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिईएको थियो । निर्देशनको सहि पालना गरेकोमा प्रमुख जिल्ला अधिकारी आचार्यले प्राधिकरणलाई धन्यवाद दिनुभयो । जिल्लाको सबै पक्षबिचको निश्कर्ष अनुसार दिएको निर्देशन १२ दिनमै सम्पन्न गरेकोमा प्रतिनिधि सभा सांसद सुर्य थापाले प्यूठान बितरण केन्द्र प्रति आभार व्यक्त गर्नुभयो । उहाले भन्नुभयो,` चाहे पछि १ बर्ष लाग्नेकाम १२ दिनमै सकिने रहेछ त ।´ उहाँले जिल्लामा रहेका अन्य अलपत्र योजना सम्पन्न गर्न जिल्लाको सबै शक्तिले जोडबल गर्न आग्रह गर्नुभएकोछ । साथै सव-स्टेसन सञ्चालनमा सहयोग गर्ने नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत टेलिफोन गरि धन्यबाद दिनुभएकोछ । टेलिफोनमा कुरा गर्दै सांसद थापाले प्यूठानका ६४ वटा वडा मध्य नौबहिनी १ स्याउलिवाङ्ग र गौमुखी गा पाको रजवारामा बिद्युत केन्द्रीय प्रशारण लाईन मंसिर सम्ममा बिस्तार गरि जिल्लालाई सत प्रतिशत बिद्युत बिस्तार घोषणा गर्न आउन आवहान समेत गर्नुभएकोछ ।
यस्तै बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले प्रशासनमा भएको प्रतिबद्धता पूरा भएको बताउनुभयो । उहाले १० बर्ष पहिलेको परिकल्पना अहिले पूरा भएको बताउनुभयो । सव-स्टेसन सञ्चालन गर्न पहल र सहयोग गर्ने जिल्ला, प्रदेश र केन्द्र अन्तरगतका सबै पक्षलाई उहाले धन्यबाद समेत व्यक्त गर्नुभयो ।

करिब १४ करोड भन्दा बढिको लागतमा प्यूठान न पा ८ दम्तीमा बिद्युत सव-स्टेसन निर्माण भई आजदेखि बिधिवत रुपमा सञ्चालन भएको छ । २०७२ असार ४ गते सव-स्टेशन निर्माणको टेण्डर भएको र २०७४ जेष्ठ १७ मा लाईन बिस्तारको टेण्डर भई करिब ७५ प्रतिशत काम सकेर ठेकदारले योजना अलपत्र पारेको प्राधिकरणको भनाईछ । प्राधिकरणका अनुसार सव-स्टेशनमा तीन वटा ११ केविएका फिडर निर्माण गरिएको छ । जस्ले नौबहिनी गापाको बहाने क्षेत्र, झिमरुकको मच्छी र प्यूठान न पाको क्वाडी क्षेत्रमा काम गर्नेछ । सव-स्टेसन सञ्चालनमा आएपछि बिद्युत बितरणको काम सहज र सुलभ समेत हुने प्यूठान बितरण प्रमुख दासले बताउनुभयो । तीन फिडर भएकाले एउटा क्षेत्रमा समस्या आउदा अन्य क्षेत्रको बिद्युत प्रवाहमा कुनै समस्या नहुने उहाको भनाईछ ।




