सप्तकोशी नदीको कोशीब्यारेजका ४१ ढोका खोलीकोछ ।सप्तकोशीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
यसैबिच सेती नदीको जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि सिगास गाउँपालिकाका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० परिवारलाई सुरक्षित स्थानमा सारेको जानकारी दिए । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।’ रासस



