शागर रिजाल
प्यूठान । ऐरावती गाउँपालिका १ दाङ्गबाङ्ग स्थित अमिलीमा भारत सरकारको ८० प्रतिशत अनुदानमा नयाँ विद्यालय र छात्रावास भवन निर्माण भएको छ ।
अमिलीस्थित दाङ्गवाङ्ग माध्यमिक विद्यालयलाई ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपैयाँमा विद्यालय भवन र छात्रवास निर्माण सम्पन्न गरी बुधवार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । भारतीय सरकारको ८० र ऐरावती गाउँपालिकाको २० प्रतिशत लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

बुधबार भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गरेसँगै भवन प्रयोगमा आएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत प्राप्त अनुदान विद्यालय भवन, छात्रावास तथा सम्बन्धित पूर्वाधार निर्माणमा खर्च गरिएको हो। परियोजना ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो।
श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रमा अवस्थित अग्रणी सरकारी विद्यालयमध्ये एक हो यस विद्यालयमा ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्मका २३४ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये करिब ६० प्रतिशत छात्रा रहेको विद्यालयले बताएको छ। नयाँ भवन निर्माणपछि विद्यालय व्यवस्थापन, स्थानीय सरकार र अभिभावकहरूले विद्यार्थीहरूका लागि सिकाइको वातावरण अझ सुरक्षित, आकर्षक र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालयका सरोकारवालाहरूले भारत सरकारद्वारा दीर्घकालीन रूपमा दिइँदै आएको विकास सहयोगबारे कृतज्ञता प्रकट गरेका छन्। उनीहरूका अनुसार पहाडी ग्रामीण क्षेत्रका विद्यार्थीले गुणस्तरयुक्त पूर्वाधार पाउनुले समग्र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्नुका साथै विद्यालयमै विद्यार्थी आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ।

निकट छिमेकीको रूपमा नेपाल–भारतबीच बहुक्षेत्रीय सहयोग जारी रहेको उल्लेख गर्दै भारतीय दूतावासले शिक्षा जस्ता प्राथमिकतामा आधारित परियोजनाहरूले नेपालको विकास तथा समृद्धिका लक्ष्यलाई सहयोग पुग्ने धारणा व्यक्त गरेको छ।



