प्यूठान, असार ३१ । तीन वर्ष अगाडि रोजगारीको खोजीमा इराक गएका लिला बहादुर बरालले कल्पना पनि गरेका थिएनन् कि फर्किँदा उनका जिन्दगीको सबैभन्दा नजिकको मान्छे नै टाढा भइसकेकी हुनेछ — र त्यो टाढोपन त्यति सामान्य मात्रामा सिमित हुनेछैन। त्यो टाढोपन अन्ततः रगतले रङ्गिएको अपराधमा परिणत भयो।
सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ पूर्व-पति ३० वर्षीय लिला बहादुर बरालले २८ वर्षीया श्रीमती रुकमनी बरालको घाँटी चक्कु प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार, घटना असार ३१ गते बिहान १०:१० बजे दिपक परियार नामक पुरुषको आफन्तको घरमा भएको हो।
विदेशको पसिना–माटोमा मिल्यो रक्तरञ्जित टुक्रा
लिला तीन वर्षअघि इराक गएका थिए। उनको सपना थियो — परिवारको आर्थिक अवस्था सुधार्ने, श्रीमतीका खुशीहरू खरिद गर्ने। तर जब उनी घर फर्किए, उनको जीवनको रेखा नै उल्टो घुमिसकेको थियो। श्रीमती रुकमनी बराल पहिले नै अर्कै पुरुषसँग घरजम गरेर बस्न थालिसकेकी थिइन्। लिलाले पटक–पटक सम्झाउन खोजे, “फर्की सँगै बाँचौँ”, भनी आग्रह गरे। उनले सम्बन्ध विच्छेदको प्रस्ताव पनि राखे। तर न त रुकमनी फर्किन राजी भइन्, न डिभोर्समा सहमति दिइन्।
यस अस्वीकारले लिलाको मनमा चिसो रगत उम्लियो। र, त्यो रिस एक घातक निर्णयमा परिणत भयो ।
चक्कुको प्रहार, रुकमनीको अन्त्य।
घटनाको दृश्य, प्रहरीको तत्परता

रुकमनी गोठेरीस्थित दिपक परियारका आफन्तको घरमा बसिरहेकी थिइन्। त्यही बेला लिला अचानक पसे र धारिलो चक्कुले घाँटी रेटे। घटना भएपछि प्रहरी चौकी बडडाँडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली परिचालन गरियो भने इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा ‘सोको’ टोलीसमेत घटनास्थलमा खटियो। हत्यारा भनिएका लिला बहादुर बराल तत्काल पक्राउ परेका छन् र अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको प्रहरीको भनाइ छ।
यो घटना केवल घरेलु हिंसाको दृष्टिकोणले मात्र हेर्न मिल्दैन । ‘अपराधिक प्रेम’ र ‘नटुंगिएका सम्बन्ध’ को वास्तविक चित्र यो घटनाले देखाएकोछ । न्याय पाउने आशामा रुकमनी अब छैनन्। तर यस्तो घटना पुनः नदोहोरियोस् भनेर राज्य, समाज, परिवार सबैले सिक्नुपर्ने गहिरो पाठ भने बाँकी नै छ।



