प्यूठान । पौष ५ गतेदेखि १७ गते सम्म प्रथम भित्रिकोट प्यूठान महोत्सब सञ्चालन हुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकैको बगरमा महोत्सव हुने आयोजकले जनाएकोछ ।
उक्त बगरमा प्रदर्शनी स्थल निर्माणको प्रस्ताव गरपएको छ । सोही स्थान छनौट गरी महोत्सव सञ्चालन गर्न लागेको उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलीखानले बताउनुभयो ।

महोत्सबमा कृषि उपज तथा स्थानीय उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराउने र प्यूठानमा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीलाई प्यूठान उद्योग वाणिज्य संघको सिफारिसमा ५० प्रतिशत कम शुल्कमा स्टल उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । महोत्सबको आम्दानीबाट बिजुवारमा रहेको आफ्नै जग्गामा प्यूठान नगर बजार इलाकाको सचिवालय भवन सहित ट्रस निर्माण गर्ने उद्धेश्य रहेको छ ।
महोत्सवमा ठूलो स्क्रिनमा प्युठानका विभिन्न पर्यटकीय क्षेत्र, तथा कला संस्कृतिको डकुमेन्ट्री समेत प्रदर्शन गरिने बताईएकोछ । यस्तै ठूलो धनराशिको पुरस्कार सहित प्युठान डान्स आइडल सिजन-२ पनि सञ्चालन हुने अध्यक्ष खानले बताउनुभयो । महोत्सवमा करिव २ करोड रुपैया बरावरको करोवार हुने अपेक्षा गरिएको छ । अपांग, ज्येष्ठ नागरिकहरुलाई निशुल्क, विद्यार्थीलाई परिचय पत्रको आधारमा ५० र सर्वसाधारणलाई ८० रुपियाँको दरले टिकट शुल्क लाग्ने आईतवार बाग्दुलामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।



