प्यूठान— एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि पाँच दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। निर्वाचन आयोगले हालै सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते, मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ।
२०७९ मा सम्पन्न प्रतिनिधि सभा चुनावमा नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापा विजयी भएका थिए। भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन पछि उत्पन्न राजनीतिक संकटका कारण प्रतिनिधि सभा विघटन भई, शुशीला कार्की नेतृत्वको नागरिक सरकारबाट आगामी निर्वाचन हुन लागिएको हो।
५ दलहरूको उम्मेदवारहरु:-
एमालेले यसपटक पनि निरन्तरता दिँदै थापालाई नै दोस्रो पटक टिकट दिएको छ। पार्टी केन्द्रीय कमिटीमा पनि उनको नाम एकल सिफारिसमै गएपछि उनी पुनः प्रत्यासी हुने सुनिश्चित भएको हो।
नेकपा मसाल (राजमो)ले यसअघि दुईपटक सम्म ३ दलिय गठबन्धनको बलमा दुर्गा पौडेललाई उम्मेदवार बनाएकोमा यसपटक भने झिमरुक गाउँपालिकाका पूर्व अध्यक्ष तिलक जि.सी.लाई उम्मेदवारी दिएको मसालका प्रवक्ता रामबहादुर पहाडी (केसी)ले जनाए।
नेपाली कम्युनिस्ट पार्टीले पनि आफ्नो उम्मेदवारका रूपमा पूर्व लुम्बिनी प्रदेश सांसद तथा मन्त्री कृष्णध्वज खड्कालाई अगाडि सारेको छ।
यसैगरी श्रम–संस्कृति पार्टीबाट गोबिन्द गिरी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट स्याम गहतराज प्रतिस्पर्धामा हुने भएका छन् भने नेपाली जनता दलबाट बिमल पोख्रेल लड्दैछन्।
कांग्रेस र रास्वपामा अन्तिम टुंगो बाँकी

सबैभन्दा ठूलो उत्सुकता भने नेपाली कांग्रेसतर्फ केन्द्रित देखिन्छ। पार्टीले शोमबारसम्म आधिकारिक निर्णय गर्ने बताएको छ। कांग्रेस भित्र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोखरेलको उम्मेदवारी अत्यन्तै प्रबल रहेको स्रोतले बताउँछ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै नाम टुंगो लगाउन सकेको छैन। कणध्वज केसी र विकास पोखरेलबीच प्रतिस्पर्धा रहे पनि अन्तिम क्षणमा नयाँ अनुहार पनि आउने सम्भावना पार्टी स्रोतले संकेत गरेको छ।
चुनाव नजिकिँदै गर्दा जिल्लामा राजनीतिक चर्चा–परिचर्चा चर्कँदै गएको छ। विशेषगरी कांग्रेसले डा. गोबिन्द पोखरेललाई उम्मेदवार बनाएमा प्यूठानमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने सर्वसाधारणको धारणा सुन्न पाइन्छ।
संयोगवस् यसपटक झिमरुक गाउँपालिकाका ४ जना उम्मेदवार भिड्ने भएका छन् । एमालेका सुर्य ब.थापा, राजमोका तिलक जिसी, श्रम सस्कृतिबाट गोबिन्द गिरी र नेपाली जनता दलका बिमल पोख्रेल झिमरुक वासी हुन् ।



