प्यूठान । क्षयरोग (टिबी) संक्रमित व्यक्तिहरूका नजिक रहेका मानिसहरूमा सुषुप्त क्षयरोग संक्रमणको पहिचान गरी निःशुल्क उपचार गर्ने सरकारको रणनीति अनुसार प्यूठानका दुई नगरपालिकामा स्वास्थ्य परीक्षण कार्य भईरहेको छ।
‘क्षयरोग रोकौँ, क्षयरोग अन्त्य गरौँ’ भन्ने मुख्य नारासहित सुषुप्त क्षयरोग उपचार (3HP) कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्यूठानले Birat Nepal Medical Trust (BNMT, Nepal) को प्राविधिक सहयोगमा स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकामा क्षयरोगको परीक्षण कार्य सुरु गरेको हो।

टिबी संक्रमितको सम्पर्कमा रहेका, तर कुनै लक्षण नदेखिएका व्यक्तिहरूको Tuberculin Skin Test र रगतमा IGRA विधिबाट परीक्षण गरी उपचार गर्ने प्रणाली अनुसार परीक्षण भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका प्रमुख राजकुमार जैसवालले जानकारी दिए।
हालसम्म प्यूठान नगरपालिकामा ५ जना र स्वर्गद्वारी नगरपालिकामा १० जना गरी १५ जनामा क्षयरोगको किटाणु देखिएको उनले बताए।
“हामीले एक महिनाको अवधिमा प्यूठान नगरपालिकामा १० र स्वर्गद्वारी नगरपालिकामा १२ जनाको स्किन टेस्ट गर्दा १५ जनामा क्षयरोगको किटाणु फेला परेको छ,” जैसवालले बताए।
संक्रमण देखिएकाहरूलाई हप्तामा एकपटक परीक्षण गर्दै ३ महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा 3HP औषधि सेवन गराई उपचार प्रक्रिया अगाडि बढाइएको छ।
सुषुप्त अवस्थामा रहेका क्षयरोगका किटाणुलाई शरीरभित्रै नष्ट गर्न 3HP औषधि प्रभावकारी हुने बताउँदै बिराट नेपाल मेडिकल ट्रस्ट, प्यूठानका कार्यक्रम संयोजक शिखर गौतमले औषधिको नियमित सेवन आवश्यक रहेको जानकारी दिए।




