प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते देशभर हुने वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। कांग्रेसले ७७ वटै जिल्लाका वडा तहमा अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ। पार्टीको निर्बाचन कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते सञ्चालन हुनेछ।
यसैक्रममा नेपाली कांग्रेस प्यूठानले जिल्लाका ६४ वटै वडामा असोज ३ गते नै वडा अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी पूरा गरेको जनाएको छ। जिल्लाका नौवटै स्थानीय तहअन्तर्गतका सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको र अधिवेशनका लागि आवश्यक समन्वय तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको कांग्रेस प्यूठानले जनाएको हो।
नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले वडा अधिवेशनलाई व्यवस्थित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न पार्टीका सबै पक्षलाई एकताबद्ध भएर सहभागी हुन आग्रह गर्नुभएको छ।
उहाँले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै अधिवेशनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। “सबै पक्ष एकताबद्ध भएर अधिवेशनमा सहभागी हुनुपर्छ,” सभापति गिरीले भन्नुभयो।
कांग्रेसको वडा अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै अन्य तहका अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। कार्यतालिकाअनुसार वडा तहपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।
प्यूठानमा ६४ वटै वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने तयारीसँगै वडा तहदेखि नै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। अधिवेशनमा क्रियाशील सदस्य, वडा तहका नेता–कार्यकर्ता तथा सम्बन्धित निर्वाचन प्रतिनिधिको सहभागिता रहनेछ।



