प्यूठान ।
शिक्षा, कृषि, पूर्वाधार र दिगो विकासमा जोड दिदै प्युठान जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ३१ करोड ९ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारहरूले विकासका प्राथमिक क्षेत्रहरूलाई केन्द्रमा राख्दै जनजीवन सुधार, पूर्वाधार विस्तार र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएका छन्।

जिल्लामा सबैभन्दा ठूलो बजेट प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ। नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकामध्ये गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख ३१ हजार ५ सय रुपैयाँ र नौबहिनी गाउँपालिकाले ५६ करोड ७९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
त्यसैगरी ऐरावती गाउँपालिकाले ५२ करोड ९२ लाख ८० हजार रुपैयाँ, सरुमारानी गाउँपालिकाले ४६ करोड ९० लाख रुपैयाँ, मण्डवी गाउँपालिकाले ४४ करोड ५१ लाख ४० हजार रुपैयाँ र मल्लरानी गाउँपालिकाले ४१ करोड ३९ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
नीति तथा कार्यक्रमतर्फ पनि स्थानीय तहहरूले विकासलाई बहुआयामिक बनाउने प्रयास गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै दीर्घकालीन समृद्धिको आधार निर्माण गर्ने लक्ष्य लिइएको छ।

नौबहिनी गाउँपालिकाले “समृद्ध, सक्षम र सुखी नौबहिनी” भन्ने दीर्घकालीन सोचसहित नीति तथा कार्यक्रम अघि सारेको छ। गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र भाषा–संस्कृतिको संरक्षणलाई विकासको मूल आधार बनाएको छ।
यता ऐरावती गाउँपालिकाले लिफ्ट खानेपानी योजनामा उपभोक्तालाई राहत दिन ४० लाख रुपैयाँ विनियोजन गरेको छ। साथै वैकल्पिक ऊर्जा सम्भाव्यता अध्ययन र दिगो विकास लक्ष्य (SDGs) को स्थानीयकरणका लागि समेत बजेट छुट्याएको छ। यसले दीगो विकास र हरित ऊर्जातर्फ स्थानीय सरकारको ध्यान केन्द्रित भएको संकेत गर्छ।
समग्रमा प्युठानका स्थानीय तहहरूको बजेट संरचना हेर्दा विकासको केन्द्रमा जनसेवा, आधारभूत पूर्वाधार, कृषि आधुनिकीकरण र दिगो विकास रहेको स्पष्ट देखिन्छ। करिब साढे ५ अर्ब रुपैयाँको संयुक्त बजेटले जिल्लामा आर्थिक गतिविधि र विकास निर्माणमा नयाँ गति दिने अपेक्षा गरिएको छ।








