काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली मुद्रामा पृथ्वीनारायण शाह र गौतम बुद्धका तस्वीर समावेश गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, यसो गर्दा नेपाली नोटको मूल्य र गरिमा अझ बढ्नेछ।

सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले राष्ट्र एकीकरणमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तित्वहरूको तस्वीर नोटमा समावेश हुनुपर्ने धारणा राखे। उनले स्पष्ट पारे, “म राजावादी होइन, म गणतन्त्रको पक्षमा छु। गणतन्त्र ल्याउनकै लागि लडेको हुँ। तर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्, उनको तस्वीर नोटमा राख्दा त्यसको इज्जत बढ्छ।”
त्यस्तै, उनले शान्तिका प्रतिक गौतम बुद्धको तस्वीर पनि नेपाली नोटमा समावेश गरिनु पर्ने बताए। अर्थ समितिको उक्त बैठकमा नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समेत सहभागी थिए।



