सरोकारपोष्ट साम्बाददाता
सुर्खेत । गतबर्ष कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको एक बर्ष बितेको छ । भूकम्पले जाजरकोट, रुकुमपश्चिम सहितका जिल्लाका १ सय ५४ जनाले ज्यान गुमाएका थिए । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको थालनी हुन सकेको छैन ।
पोहोरको हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय भुकम्प पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्थाले चिन्तित छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन । भूकम्पसँगै अघिल्लो महिनाको बाढी/पहिरो र डुबानबाट विपद् पीडित थपिए ।

भूकम्पबाट मात्रै ७० हजारभन्दा धेरै घर पूर्ण तथा आशिंक क्षति भएका छन् । तर पुनर्निर्माणका लागि सरकारले चासो नदिएको पीडितको गुनासो छ । सरकारी ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था कष्टकर बनेको छ ।
एक वर्षभित्रै स्थायी संरचना बनाउने घोषणा गरेको सरकारले काम कहिले थाल्ने हो टुङ्गो छैन । तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल तत्कालै शुरु हुने दाबी गर्नुहुन्छ । उहाँका अनुसार एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घर तथा संरचना र यसवर्षको बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण कार्य अब सँगसँगै अघि बढ्नेछ ।




