प्यूठान । गाईलाई लक्ष्मी, देवी, गाई माताको रुपमा पुजा गरे पुण्य मिल्छ भन्ने मान्यता अनुसार आज यमपञ्चक अर्थात् तिहार अन्तर्गत गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । प्यूठान स्थित स्वर्गद्वारी आश्रम लगायत आश्रमका दाङ, कपिलवस्तु, काठमाण्डौँलगायका ठाउँहरुमा आज विशेष पुजा गरिने आश्रमले जनाएकोछ ।

आश्रममा रहेका गौशालामा सामूहिक गाई पूजा गरिएको स्वर्गद्वारी आश्रमका कार्यकारी अधिकृत हरि अधिकारीले बताए। उनका अनुसार आश्रम स्थापना भएदेखिनै गौशाला निर्माण गरि गाई पलिदै आएको छ । उनले भने, `स्थानीय जातका गाई संरक्षण गर्दै आएको छौँ । गाई पूजाको दिन श्रद्धा भक्तिपूर्वक भक्तजनहरू यहाँ आउनुहुन्छ। गाईको पूजा आराधना गर्नुहुन्छ।’
स्वर्गद्वारी आश्रम र आश्रम माताहतका अन्य गौशालाहरुमा गोबद्र्धन पर्वत बनाएर सामूहिक रुपमा गाई र गोवर्धन पर्वतको पूजा गरिन्छ । आश्रमले विभिन्न ठाउँहरुमा करिब एक हजार गाई पाल्दै आएको जनाएकोछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक मान्यता छ।

गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । अस्ति बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरियो । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको दिन हिजो कुनै पर्व नपरेको र पाँच दिनमा सकिने तिहार यसवर्ष छ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यसवर्ष कात्तिक १३ गते मङ्गलवारदेखि शुरु भएको हो । भोलि तिहारको मुख्य दिन भाइटीका मनाईंदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर भोलि दिनभरी नै टीका लगाउन सकिने समितिले उल्लेख गरेकोछ ।



