देउखुरी, लुम्बिनी — लुम्बिनी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट लोकतान्त्रिक मूल्य, न्यायोचित विकास र जनताको वास्तविक आवश्यकता विपरीत रहेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।

”
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “सबै क्षेत्र र भूगोलमा आवश्यकताअनुसार न्यायोचित, सन्तुलित, समानुपातिक र समावेशी ढंगमा बजेट विनियोजन हुन सकेन।”
उनले बजेट निर्माण प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै भने, “नीतिगत सहभागिता र आर्थिक अनुशासनको पालना नगरी सम्बन्धित मन्त्रालयबाहिर बसेका अनधिकृत व्यक्ति र समूहहरूको दबाबमा अल्पकालीन लाभ र व्यक्तिगत स्वार्थ केन्द्रित योजनाहरू समावेश गरिएका छन्।”
सभापति पुनले विषयगत कार्यालयहरूले प्राथमिकताका आधारमा प्रस्ताव गरेका योजनाहरूलाई वेवास्ता गर्दै एकल नेतृत्वको स्वविवेकमा टुक्रे योजनाहरूलाई प्राथमिकता दिइएको आरोप पनि लगाएका छन्।



